‘राणा, पञ्चायत र राजा फालेको काँग्रेस कम्युनिष्टसंग डराउँदैन’

408

‘राणा, पञ्चायत र राजा फालेको काँग्रेस कम्युनिष्टसंग डराउँदैन’


बुटवल, १६ पुस । नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय मेलमिलाप दिवस बिभिन्न कार्यक्रम गरि सोमबार देशभर मनाएको छ । राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रम गर्नकालागि पार्टी केन्द्रीय समितिले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनीधि खटाएको थियो ।

सो अवसरमा नेपाली काँग्रेस रुपन्देहीले पनि पार्टी कार्यालय भैरहवामा अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पार्टीको हालै सम्पन्न महासमिति बैठकले नयाँ उर्जा थपेको बताउनु भयो ।

उहाँले संस्थापक नेता बिपि कोईरालाले देखाएको बाटो अहिले झनै सान्दर्भिक बन्दै गएको बताउँदै पार्टी अव भागवन्डाबाट भन्दा पनि बास्केटबाट चल्नुपर्ने बताउनु भयो । पार्टीका संस्थापक नेता बिपि कोईराला २०३३ सालमा पञ्चायतको बिरुद्धमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको स्मरण गर्दै उहाँले नेपाली काँग्रेस प्रति आम नागरिकको आशा र सोही अनुसार चासो रहेकाले जनतालाई मलमपट्टि गर्नेगरी काम गर्न आवश्यक रहेको भनाई राख्नुभयो ।
उहाँले राण, पञ्चायत र राजा ढालेको काँग्रेस कम्युनिष्टसंग नडराउने बताउँदै दुई तिहाईको सरकारलाई जनपक्षिय काम गर्न सुझाव दिनुभयो । पञ्चायतका बिरुद्ध नेपालमै रहेर आवाज उठाउनकालागि स्वदेश फर्किदै गर्दा जहाजबाट गिरफ्तार पर्नुभएका बिपिले राजाले आफूप्रति देखाएको स्वास्थ्य प्रतिको चासोलाई आफ्नो स्वास्थ्य भन्दा पनि देश रहन्छ की रहन्न भन्ने चिन्ता भएको फवाफ फर्काउनु भएको समेत स्मरण गर्नुभयो ।

उहाँले सरकारले दुई तिहाईको दम्भ बोकेर अपराधलाई प्रसय दिने काम गरिरहेको आरोप लगाउँदै सरकारको यस्तै रवैया रहिरहे अब पार्टीले सडक देखि सदनसम्म सबै तताउने चेतावनी दिनुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाको सभापतित्वमा भएको कार्यक्रममा गुल्मीका पूर्व सभापति चन्द्र केसी, प्रदेश पाँच प्रमुख प्रतिपक्षि दलका नेता बलदेव शर्मा, प्रदेश सभा सदस्यहरु रमा अर्याल, पुष्पा थरुनी, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, नेपाल महिला संघ रुपन्देहीकी सभापति गंगा शाही, क्षेत्रीय सभापति हरि लम्साल दलित संघ का सभापति बुद्धिमान हरिजन, युवा नेता विष्णु पोखरेल, सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, नेबिसंघ केन्द्रीय सदस्य लेखनाथ भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।

जिल्ला उपसभापति फणेन्द्र शर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण खाँणले गर्नुभएको थियो ।
त्यस्तै नेपाली काँग्रेसले अर्घाखाँची, पाल्पा, गुल्मी, नवलपरासी, कपिलबस्तु लगायतका जिल्लामा पनि ४३ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।