रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रममण : रोग नियन्त्रणका लागि बजेट शुन्य

926

रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रममण : रोग नियन्त्रणका लागि बजेट शुन्य

बुटवल, १९ भदौ । देशका बिभिन्न जिल्लाहरुमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका समाचारहरु आइरहेका बेला रुपन्देही जिल्लामा पनि डेंगुका बिरामी दैनिक रुपमा फेला पर्ने गरेका छन् । बुधवारसम्म रुपन्देही जिल्लामा ४८ जना डेंगु रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
दैनिक रुपमा डेंगु रोगका बिरामीहरु फेला परेको तथ्यांकलाई हेर्दा यो वर्ष मात्रै रुपन्देहीमा डेंगुले महामारीको रुप लिनसक्ने संकेत मिलेको जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले बताउनु भयो । रुपन्देही जिल्लाको बुटवल स्थित बुटवल अस्पताल प्रालीमा सबैभन्दा बढि २५ जना डेंगु संक्रमित बिरामीको उपचा भईरहेको डा. नन्दु पाठकलाई उदृत गर्दै जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ४, आम्दा अस्पतालमा ४, क्रिमशन अस्पताल मणिग्राममा ३ जना डेंगुका बिरामीहरुको उपचार भैरहेको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । नेपालमा सन् २००४ देखि डेंगु रोगको संक्रमण बढ्दै गएको छ । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा रोग हो । यो जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गमला, कूलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्ने गर्दछ ।
फुल पारेको १० देखि १२ दिनमा बच्चा उत्पादन गर्नसक्ने क्षमता रहेको र अहिले सवै भन्दा उपयुत्त मौसम रहेको पनि जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले बताउनु भयो । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले दैनिक ५ जनासम्मलाई टोक्ने गर्दछ । झट्ट हेर्दा बाघजस्तो देखिने भएकाले यो लामखुट्टेलाई ‘टाइगर मस्क्युटो’ पनि भन्ने गरिन्छ । मुलुक संघियतामा गएसंगै जिल्ला जनस्वास्थ्य कार्यालयको अधिकार स्थानीय तहमा हस्तान्त्ररण भएकाले जनस्वास्थ्य कार्यालयमा डेंगु रोग नियन्त्रणका लागि विगत दुई वर्षदेखि वजेट आउन छाडेको कार्यालयले जनाएको छ । जिल्लामा डेंगु रोगले महामारी रुप लिन सक्ने संकेतसंगै जनस्वास्थ्य कार्यालयले जिल्लाका सवै स्थानीय तहलाई रोग नियन्त्रणकालागि प्रभावकारी कदम चाल्न पत्राचार गरिएको समेत भेक्टर कन्ट्रोल निरिक्षक शाहले बताउनु भयो । तर जिल्लाका कुनै पनि स्थानीय तहले डेंगु नियन्तरणकालागि कुनै प्रयास गरेका छैनन् ।