रुपन्देही उद्योग संघद्वारा औद्योगिक बिकासको अवधारणा सार्वजनिक

1.1K

रुपन्देही उद्योग संघद्वारा औद्योगिक बिकासको अवधारणा सार्वजनिक

बुटवल, ४ असोज । रुपन्देही उद्योग संघले औद्योगिक बिकासको अवधारणा सार्वजनिक गरेको छ । शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका योगिकुटीमा आयोजना गरिएको कार्यक्रममा प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देही उद्योग संघको संस्थागत अवधारणा सार्वजनिक गर्नुभएको हो ।
संघले तयार गरेको संस्थागत अवधारणा सार्वजनिक गर्दै मन्त्री गिरीले औद्योगिक बिकासमा बैदेशिक लगानी भित्रिने गरी ऐन काउनु निर्माण गरिने बताउनु भयो । उहाँले आफूसंग जे छ त्यसैबाट सम्भावना खोज्नुपर्ने उल्लेख गर्दै कृषि, बन पैदावार, जडिबुटी, खानीमा आधारित उद्योग धन्दाकालागि सरकारले प्राथमिकता दिने बताउनु भयो । मन्त्री गिरीले उद्योगमैत्री कानुन वनाएर लगानी सुरक्षित हुनेगरी कानुन तर्जुमा गरिने र लगानीकालागि भरपर्दो वातावरण बनाईने प्रतिवद्धता व्यक्त गुर्नभयो । उहाँले सवैलाई ईमान्दार भएर काम गर्न आग्रह गदैं देशलाई आवश्यक पर्ने उत्पादन पुरा भएपछि निर्यातमा केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो ।
उक्त अवधारणामा रुपन्देही भौगोलिक आधारमा नेपालको मध्य भागमा रहेकोले यहाँ उत्पादित वस्तुहरु देशका सवै स्थानमा पठाउन सजिलो हुने तथा कच्चा पदार्थ आपूर्ती गर्दा भन्सार नाका नजिक रहेकाले लगानीकालागि आकर्षक रहेको उल्लेख गरिएको छ ।
विश्वमा १२५ करोड भन्दा बढी बुद्धिष्ट रहेको र उनिहरु एक पटक बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहने भएकाले पर्यटन उद्योगको राम्रो सम्भावना रहेको औंल्याइएको छ । अवधारणा निर्माता पूर्व सहसचिव विष्णु ढकालले जिल्लामा उत्पादन मुलक र कृषि तथा वनजन्य, खनिज उद्योगहरुको लागि उपयुक्त वातावरण रहेकाले त्यसका लागि सामुहिक लगानी जरुरी रहेको औंल्याउनु भयो ।
उद्योगी, व्यापारीका लागि उपयुक्त स्थल भए पनि औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, उर्जाको न्यून उपलब्धता कमजोर औद्योगिक पूर्वाधार, दक्ष जनशक्तिको अभाव अत्याधुनिक प्रविधीको अभाव निर्यातयोग्य बस्तुहरुको विविधिकरणमा कमी, कमजोर आपूर्ति व्यवस्थापनले गर्दा उद्योगी र व्यापारीले समस्या भोग्नु परेको अवधारणामा उल्लेख गरिएको छ । अवधारणा निर्माता ढकालले उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति नेपालमा नभएकाले सरकारले दुरदृष्टि राखेर जनशक्ति उत्पादनमा लाग्नुपर्ने बताउनु भयो ।
संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले लामो छलफल र अन्तरक्रिया गरि औद्योगिक विकासका लागि संस्थागत अवधारणा अगाडि सारिएको बताउदैं औद्योगिक विकासका लागि नीति निर्माण तहमा रहेको राजनीतिक नेतृत्वमा स्पष्ट सोच र ईच्छा शक्ति जरुरी रहेको उल्लेख गर्नु भयो ।
मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि औद्योगिक वातावरण जरुरी रहेको औंल्याउँदै कार्यक्रममा सहभागिले औद्योगिक वातावरण बनाईदिन सरकारलाई आग्रह गरेका थिए ।