लुम्विनी गुरुयोजना : ३५ वर्षमा पनि सुरु भएनन् ठूला परियोजना

593

लुम्विनी गुरुयोजना : ३५ वर्षमा पनि सुरु भएनन् ठूला परियोजना

लुम्बिनी, १९ पुस । लुम्बिनी विकास गुरुयोजना चालु भएको ३५ वर्ष वितिसक्दा समेत ठूला परियोजनाहरुको काम अझै सुरु भएको छैन । जापानका वास्तुकलाविद् केन्जो टांगेले सन् १९७८ सालमा २५ वर्षमा पुरागर्ने लक्ष्य लिएको लुम्विनी विकास कोषको गुरुयोजना निर्माणमा ढिलाई भएको प्रति सर्वत्र आलोचना भईरहेको छ ।
लुम्विनी गुरुयोजना अनुसार अझै छ वटा डोम आकारका भवन, पानी, विद्युत, टेलिकम्युनिकेशन, अडिटोरियम हल, ढल निकास, हाईस्कूल, तेलार नदी डाइभर्सन, सिम्वोलिक पेभिलियनलगायतका ठूला काम गर्न बाँकी रहेका छन् । गुरुयोजना शुरु भएको ३५ वर्षमा केन्द्रिय नहर, उद्यानलगायतका सानो बजेटको ८० प्रतिसत योजनाहरु मात्रै सम्पन्न भएका छन् । लुम्विनीको विकास निर्माणमा ६ अर्व लगानी भईसकेको छ । कोषका अधिकारीका अनुसार गुरुयोजनाको बाँकी काम गर्न अझै ६ अर्व वजेट आवश्यक देखिएको छ ।
विश्वको ग्लोव पृथ्वीकै आकार जस्तै लुम्विनी विकास कोषको गुरुयोजना एकहजार १५५ विघा क्षेत्रफलमा फैलिएको छ । लुम्विनी गुरुयोजनामा उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँ लुम्बिनीग्राम क्षेत्र गरी तीन भागमा विकास योजना निर्माण जारी छ ।
यसैविच कोषले ग्लोबल बोलपत्र प्रक्रियाबाट छिट्टै गुरुयोजना सम्पन्न गर्ने तयारी थालेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव एवं प्रमुख इन्जिनियर सरोज भट्टराईले जानकारी दिनुभयो । योजनाहरुको डिजाइन र स्टिमेट एवं निर्माण अवधिभर सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको निम्ति हालै सूचना प्रकाशन गरेको उहांले बताउनु भयो ।
अबको तीन वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ ग्लोबल बोलपत्र आह्वान गरिने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भिक्षु मैत्रेयले जानकारी दिनुभयो । उक्त योजना निर्माणका लागि अझै छ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । कोषले हालसम्म अन्य योजनाहरुमा छ अर्ब रुपैयाँ खर्च गरिसकेको कोषका लेखा अधिकृत भिम वस्नेतले जानकारी दिनुभयो ।
गुरुयोजना सम्पन्न भएपछि लुम्विनीको मुहार फेरिने र हजारौ पर्यटक भित्रिने अपेक्षा गरिएको छ । लुम्बिनीलाई विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आर्कषक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिईएको छ ।
नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सफल पार्ने र अब १० वर्षभित्र लुम्विनीमा वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सरकार एवं स्थानीय सरोकावाला निकाय र कोषले लुम्बिनीप्रति आकर्षक बढाउदैं पर्यटकलाई घुम्न वस्न लायक बनाउने सोच सहित पवित्रस्थलको रुपमा विकास जारी राखेका छन् । सन २०१८ मा स्वदेशी र विदेशीसहित करीब १७ लाखले लुम्बिनीको अवलोकन भ्रमण गरेको सूचना अधिकृत हरिध्वज राईले जानकारी दिनुभयो ।