‘संविधान कार्यान्वयनको दायित्व पनि काँग्रेसकै हो’

644

‘संविधान कार्यान्वयनको दायित्व पनि काँग्रेसकै हो’

बुटवल, ३ असोज । संविधान दिवसको अवसरमा नेपाली काँग्रेसले रुपन्देहीका दश स्थानमा दीपावली गरेको छ । नेपाली काँग्रेस प्रदेश क्षेत्रीय समितिले आफ्ना आफ्ना निर्वाचन क्षेत्रमा संविधान आएको खुसीयाली सहित दिवसमा दीपावली गरेका हुन् । नेपाली काँग्रेसका तत्कालिन सभापति सुशिल कोईराला नेतृतवको सरकारले संविधान निर्माण गरि जारी गरेको थियो । जारी संविधानलाई संस्थागत गराउने दायित्व पनि नेपाली काँग्रेसको काँधमा रहेको बताउँदै वर्तमान सरकारलाई संविधान कार्यान्वयनमा दवाव सिर्जना गर्नकालागि पनि दिवसमा दीपावली गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
संविधान जारी भएको दिन असोज ३ गते साँझ नेपाली काँग्रेसले रुपन्देहीको प्रदेश निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नं. १ (क) को देवदह नगरपालिकाको खैरेनी, (ख) को तिलोत्तमा नगरपालिकाको कोटिहवा, क्षेत्र नं. २ (क) को योगिकुटी, (ख) को बुटवल ट्राफिकचोक, क्षेत्र नं. ३ (क) को भैरहवाको देवकोटा चोक र (ख) को सुद्धोधन गाउँपालिकाको फर्सा्टिकरमा दीपावली गरेको हो । त्यस्तै क्षेत्र नं. ४ (क) को रायपुर र (ख)को मझगाउँ, तथा क्षेत्र नं. ५ (क) को लुम्बिनी नगरपालिकाको पर्सा चौराहा र (ख) को सैनामैना नगरपालिकाको दुधराक्ष कलौनीमा दीपावली गरिको थियो ।
त्यस्तै नेपाली काँग्रेसले संविधानका विशेषताका बिषयमा अन्तरक्रिया छलफल कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र नं. २ (क)ले शंकरनगरमा आयोजना गरेको उक्त कार्यक्रममा प्राध्यापक संघका केन्द्रीय अध्यक्ष अधिवक्ता डा. बुद्धबहादुर थापा र बार एशोसियशन बुटवलकी पूर्व अध्यक्ष अधिवक्ता मीना पाण्डेले संविधानका सवल तथा दुर्वल पक्षका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
२००७ सालमा बिपि कोईरालाले संविधान सभाको मुद्धा उठाएको, २०६२/०६३ मा माओवादीलाई शान्ति वार्ताका माध्यमबाट संविधान सभाको निर्वाचन गराएर २०७२ सालमा तत्कालिन पार्टीका सभापति स्वर्गीय सुशिल कोईराला नेतृत्वको सरकारले संविधान जारी गरेको र शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन तहका निर्वाचन गराएर संविधान कार्यान्वयन चरणमा प्रवेश गराएको उल्लेख गर्दै यसरी प्रप्त भएको संविधान कार्यान्वयन गराउने दायित्व पनि नेपाली काँग्रेसको भएको नेपाली काँग्रेसका केन्द्रीय प्रतिनीधि माधवप्रसाद नेपालले बताउनु भयो ।
यतिबेला नेपाली काँग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा पनि रहेकाले यी बिषयबस्तुलाई जनता समक्ष लैजानुपर्ने उहाँले बताउनु भयो ।
क्षेत्रीय सभापति माधवलाल देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, महासमिति सदस्य यमबहादुर खत्री, क्षेत्रीय उपसभापति मुक्ति अधिकारी, सचिव राममायाँ पौडेल, बिपि बिचार राष्ट्रिय समाज तिलोत्तमा नगर सभापति कल्याण पौडेल लगायतले संविधानका सवल पक्षहरुलाई जनताको माझमा लैजानु पर्ने र संविधामा भएका त्रुटीहरुलाई सच्याउनकालागि पार्टीका तर्फबाट सरकारलाई आग्रह गर्नुपर्ने भनाई राख्नुभएको थियो ।