सकियो लुम्बिनी एक्स्पो

636

सकियो लुम्बिनी एक्स्पो


बुटवल, १८ पुस । यहि पुसको ५ गतेदेखि बुटवल रामनगर स्थित बुटवल मण्डपमा सुरु भएको लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय ब्यापार मेला सकिएको छ । एक्स्पो अवधिभरमा १० लाखजनाले अवलोकन गरेको र ४० करोडको कारोवार भएको एक्स्पो आयोजक रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिनुभयो ।

१४ दिनसम्म सञ्चालन गरिएको एक्स्पोको बुधबार समापन गर्दै प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले एक्स्पोले यस क्षेत्रको आर्थिक, व्यवसायिक, कृषि, पर्यटन क्षेत्र विकासका लागि नयाँ बाटाहरु पहिल्याउन प्रदेश सरकारलाई सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकले राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको बाटो समातेको अवस्थामा आयात मुखि अर्थतन्त्रको अन्त्यगरि निर्यात मुखि अर्थतन्त्र स्थापित गर्न सरकारले नीजी क्षेत्रको सहयोग र सहभागितामा काम गर्ने धारणा राख्नु भयो ।

समापन कार्यक्रममा बोल्दै प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले यस मेलावाट यस क्षेत्रको विकासमा दीर्घकालिन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउसम्म व्यापार विस्तार’ भन्ने नाराका साथसञ्चालित एक्स्पोमा ६ सय स्टल सहभागि थिए । समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो ।

सहभागी सम्पूर्ण स्टलधनीहरुको तर्फबाट प्रथम एशियन कंक्रिट उद्योग, दोस्रो बुटवल स्टिल फर्निचर उद्योग प्रालि र तेस्रो जस्मिन हाईजिङ प्रोडक्स भएका छन् । कृषितर्फ पैचो पसल प्राली प्रथम, लुम्बिनी हाइड्रोपोलिक दोस्रो तथा स्पाइजर च्याउ कृषक समुह तेस्रो भएका छन् । प्रोत्साहानतर्फ प्रेममिस अल्लो पोशाक, पाल्पाली वास तथा हस्तकला, प्रान तथा बल्याकहर्स जुत्ता पुरस्कृत भएका छन् भने महिला पुरस्कार लाङ्घाली अचारलाई प्रदान गरिएको छ ।