सडक महोत्सवको प्रचार गर्न पोखराको टोली बुटवलमा

699

सडक महोत्सवको प्रचार गर्न पोखराको टोली बुटवलमा


बुटवल, ३ पुुस । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराले आयोजना गर्न लागेको २० औं पोखरा सडक महोत्वसको टोली प्रचार प्रसारका लागि बुटवल आएको छ । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर रेबान पोखराले पुसको १३ देखि १७ गते (डिसेम्बर२८–जनवरी–१) सम्म पोखराको लेकसाईडमा २० औं पोखरा सडक महोत्सव आयोजना गरेको छ ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारा सहित पोखराको लेकसाईडको ३ किलोमिटर सडकमा सञ्चालन गर्न लागिएको महोत्सवमा संसारका लोकप्रिय खानाका परिकार राखिने रेवानले मंगलबार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । महोत्सवमा लोकप्रिय बनेका २७ देशका कहलिएका खाना तथा खानाका पारखिको आवश्यकता अनुसार फाष्टफूडको समेत व्यबस्था हुने रेवान पोखराका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले बताउनु भयो ।

अंग्रेजी नयाँ वर्षको समयमा धेरै पर्यटक आकर्षित हुने र नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सवमा मुलुकका सात वटै प्रदेशका संस्कृति आकर्षण हुने भएकाले संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा समेत महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।

२० वर्ष पहिला सडक खाना महोत्सव सुरु गर्दा नयाँ वर्षको समयमा पर्यटकहरु निख्रिँदै जान्थे भने यहि महोत्सवका कारण बाह्य तथा आन्तरिक पर्यटक समेत नयाँ वर्ष मनाउन पोखरा आउने गरेको पूर्व अध्यक्ष भुजेलले बताउनु भयो ।

पत्रकार सम्मेलनमा पोखराका व्यबसायिक संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले पर्यटनको राजधानीका रुपमा पोखरालाई बिकास गर्न रेवान र यसले सञ्चालन गर्ने सडक खाना महोत्सवले राम्रो भूमिका खेलेको भनाई राख्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु महोत्सवमा प्रदर्शन गरिने छ भने सडकमै खानाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरु पाईने रेबानका महासचिव गणेशबहादुर थापाले बताउनु भयो ।

उहाँका अनुसार महोत्सवमा मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद बृतचित्र प्रदर्शनी लगाएतका कार्यक्रम सञ्चालन गरिने छ । महोत्सव अवधिभर करिव १० लाख पर्यटक आउने आयोजकले अपेक्षा गरेका छन् ।