सरकारको निर्णय नेपालको हित विपरित

396

सरकारको निर्णय नेपालको हित विपरित


बुटवल, फागुन । नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि आँच आउने गरी सरकारले निर्णय गरेको राजनीतिक तथा नागरिक अगुवाहरुले बताएका छन् ।

सिके राउतसंग सहमति र विप्लव नेतृत्वको पार्टीलाई प्रतिवन्ध लगाउने सरकारको निर्णय नेपालको हित विपरित भएको उनीहरुको भनाई छ । सरकारको गलत निर्णयले मुलुकको राष्ट्रियता कमजोर बन्दै जाने र नेपाल द्वन्द्वमा फस्ने सम्भावना बढेको उनीहरुले बताए । सरकारले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम गरेकाले निर्णय सच्चाउन सरकारसंग उनीहरुले माग गरेका छन् ।

सरकारले हतारमा गरेको निर्णयले देशमा द्वन्द्व चर्कने सम्भावना बढेको उनीहरुको भनाई छ । सिके राउतसंग भएको ११ बुंदे सहमतिलाई सच्चाउन र विप्लव नेतृत्वको पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय फिर्ता लिन उनीहरुले सरकारसंग आग्रह गरे ।

उनीहरुले नेपाल स्वतन्त्र हुन सक्ने तर तराई वा मधेश स्वतन्त्र हुनै नसक्ने उल्लेख गर्दै सिके राउत षडयन्त्रका साथ अमेरिकावाट नेपाल आएको उनीहरुको तर्क छ । उनीहरुले भने– ‘कुनै पृथकतावादी आन्दोलनमा नलागि राजनीतिक आन्दोलनमा रहेको विप्लव नेतृत्वको पार्टीलाई सरकारले निषेध गर्न खोज्नु आफैमा द्वन्द्व बढाउनु हो ।’

रिपोर्टर्स क्लवले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सहभागी वक्ताले सिके र विप्लवको बिषयमा हतारमा निर्णय गरेर सरकार चुकेको बताए । जनताको अपेक्षा अनुसार दुई तिहाई बहुमतको सरकारले काम देखाउन नसकेकाले सरकारप्रति जनता भित्रभित्रै निरास बन्दै गएको उनीहरुको तर्क छ ।

कार्यक्रममा बोल्दै पूर्व सांसद विनोद पहाडीले सिके राउतसंगको सहमति र विप्लवको पार्टीलाई प्रतिवन्ध लगाउने सरकारको निर्णयले नेपालमा अन्तर्राष्ट्रिय सेना भित्रिने खतरा बढेको बताउनु भयो । अन्तर्राष्ट्रिय सेना नेपालमा भित्राएर द्वन्द्व चर्काउने षडयन्त्रमा सरकार फसेको दावी गर्दै उहाँले भारतको योजनामा सरकारको निर्णय भएको दावी गर्नुभयो ।

लेखक तथा साहित्यकार दिल सहानीले सिके राउतसंग भएको सहमति प्रकरणलाई ओझेलमा पार्नका लागि सरकारले विप्लवको पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय गरेको बताउनु भयो । उहाँले विप्लवको पार्टीलाई लगाएको प्रतिबन्ध सरकारले फिर्ता लिनुपर्ने बताउंदै नेपालबाट तराईलाई अलग गराउने गरी सिके राउतलाई अमेरिकाले नेपाल पठाएको दावी गर्नुभयो ।

प्राध्यापक डाक्टर बुद्धबहादुर थापाले सरकारले समस्याको समाधान गर्न नसकेको टिप्पणि गर्नुभयो । उहाँले विप्लवको पार्टीलाई राजनीतिक रुपमा सहमतिमा ल्याउनु पर्ने र सिके राउतको विषयलाई सरकारले सच्चाउनु पर्ने बताउनु भयो ।

नेपाली काँगे्रस रुपन्देही क्षेत्र नम्वर दुईका क्षेत्रीय सभापति हरि लम्सालले मुलुकमा देखिएको समस्यालाई राजनीतिक रुपमा हल गर्नुपर्नेमा सरकार आत्तिएको आरोप लगाउनु भयो । हिजो तराई स्वतन्त्र हुनुपर्छ भन्ने व्यक्तिलाई रातारात ११ बुंदे सहमति गराएर सरकारले ठूलो गल्ती गरेकाले सरकारप्रति जनताको विश्वास टुटेको उहाँले बताउनु भयो ।

उपप्रध्यापक बसन्तराज खनालले सरकारले हतारमा निर्णय गरेर गल्ती गरेकाले निर्णयलाई सच्चाउनु पर्ने बताउनु भयो । सरकार र जनप्रतिनिधिप्रति जनता निरास बन्दै गएकाले सरकारले जनताको भावनालाई बुझ्न जरुरी रहेको उहाँको भनाई छ ।

रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले राजनीतिक नेतृत्वले दुरगामी सोंचका साथ निर्णय गर्न नसक्दा नेपाल र नेपालीले समस्या भोग्नु पर्ने अवस्था आएको बताउनु भयो ।