हाँस र टर्की पालन

1.6K

हाँस र टर्की पालन

has

पाल्पा, १६ असोज । पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् ।

हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । गुगलमा हाँस र टर्की पालन गर्ने तरिका सिक्नका लागि पाण्डेयले करिब एकवर्षदेखि इन्टरनेट प्रयोग गर्दै आएका हुन् ।

एक बिगाहा क्षेत्रफलमा हाँस तथा टर्कीको फार्म सञ्चालन गरेका पाण्डेय पहाडी जिल्ला पाल्पामा समेत हाँस र टर्की पालन व्यवसायमा सफल बन्दै यस क्षेत्रकै नमुना बनेका छन् । एक वर्षअघिदेखि टर्की र हाँस पालन सुरु गरेका पाण्डेयले गुगलको सहयोग लिएर एक हजार ५०० हाँसको रेखदेख र २०० टर्कीको चल्ला हुर्काउन सफल भएपछि उनमा थप उत्साह थपिएको छ ।

पाण्डेयले नयाँ नयाँ जातका कुखुराको अध्ययन र अनुसन्धान गरिरहेका छन् । पचास वटा टर्की हुर्काएर प्रतिकिलो रु ९०० देखि रु एक हजार २०० मा घरबाट नै निकासी हुँदै आएको छ । टर्कीको मासुको खपत सहज रुपमा हुने र पोखरा, बुटवल, काठमाडौँमा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

सुरुमा टर्कीको चल्ला फ्रान्सबाट ल्याएर व्यवसाय सञ्चालन गरेका पाण्डेय अहिले पोखराबाट टर्कीको चल्ला ल्याउन पाउँदा खुसी छन् । कक्षा–१२ सम्मको अध्ययन गरेका पाण्डेय व्यावसायिक पक्षी फार्मको विकास गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । पहिलो पटक जिल्लामै यति धेरै हाँस पालन गरेका पाण्डेयले मेहनत कम धेरै आम्दानी लिन सकिने व्यवसाय रहेको बताउनुहुन्छ ।

हाँसको रोग प्रतिरोधात्मक शक्ति बढी हुने र कम क्षति हुने हुँदा यसबाट राम्रो फाइदा लिन सकिने उहाँ बताउनुहुन्छ । यहाँ उत्पादित हाँसको तानसेन, खहरे, बुटवल, पोखरामा प्रतिकिलो रु ५०० देखि ६००मा बिक्री हुने गरेपछि पाण्डेयलाई हाँस र टर्की पालन गर्नका लागि थप मेहनत र जाँगर मिलेको छ ।