१३८ टिप्परलाई कारवाही सिफारिस

324

१३८ टिप्परलाई कारवाही सिफारिस

बुटवल, १५ कात्तिक । नियम विपरित सञ्चालन भएका १३८ टिप्परलाई प्रहरीले पक्राउ गरि कारवाहीका लागि जिल्ला समन्वय समिति रुपन्देहीमा पठाएको छ ।
खानी उत्खनन् तथा त्यससंग सम्बन्धित कुनै पनि कागजपत्र नभएको र ओभरलोड बोकेको भन्दै उनीहरुलाई कारवाहीकालागि जिल्ला समन्वय समितिमा सिफारिस गरिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक हेम केसीले बताउनु भयो ।
खानीजन्य सामान ओसार–पसारमा संलग्न रहेका टिप्परहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा सवारीको चलानी, खानी उत्खनन् प्रमाणपत्र, त्यसको वातावरणीय मापदण्ड लगायतका कागजात तथा टिप्परको व्लुबुक, चालकको सवारी चालन अनुमति पत्र (लाईसेन्स), उत्खनन् ट्याक्स लगायतका कुनै पनि कागजात नभएकाले कारवाहीकालागि सिफारिस गरिएको उहाँले बताउनु भयो ।
पाल्पाका बिभिन्न स्थानबाट खानी उत्खनन् गरी रुपन्देही तथा नवलपरासीको सिमेन्ट उद्योगमा लैजाने क्रममा प्रहरीले उनीहरुलाई बुटवलमा चेकजाँच गरेको हो । उनीहरुको कारवाहीबाट राज्यलाई ५० लाख बढी राजश्व संकलन हुने उहाँ बताउनु हुन्छ । अव जिल्ला समन्वय समितिले उनीहरुलाई कारवाही स्वरुप जरिवाना काटेर पठाउने छ । जरिवाना तिरेको रसिद लिएर मात्रै उनीहरु छुट्न सक्ने र यस पछि उनीहरुले सबै कागजात पुरा गरे मात्रै टिप्पर सञ्चालन गर्न सक्ने उहाँले बताउनु भयो ।