सम्पादकीय= दशैं- विजयोत्सव र एकताको शुभकामना

618

सम्पादकीय= दशैं- विजयोत्सव र एकताको   शुभकामना

durgaनेपाली हिन्दुहरुले मनाउने ठूलो पर्व बडा दशैं घुम्दै फिर्दै फेरी पनि हाम्रा घर दैलोमा आई पुगेको छ । तर सबैमा सधैको जस्तै मनमा खुसी भने छाएको छैन । गत बैशाखमा गएको भूकम्पले हल्लाएको मनलाई संविधान निर्माणसंगै मधेशमा भएको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले नेपाली जनजीवन तहसनहस बनाएको छ । मुलुकमा ईन्धनको चरम अभाव भएको छ । जसका कारण सडकमा सवारी साधनको संख्या पनि ह्वात्तै घटेको छ भने ईन्धनकै अभावमा आन्तरिक ढुवानीमा समेत अवरोध हुँदा नेपाली जनजीवन अस्तब्यस्त वन्न पुगेको छ ।
दशैं नेपालीहरुको सबैभन्दा ठूलो पर्व भएकाले सबै आ–आफ्नो जन्मघरमा पुग्ने र मान्यजनबाट टिका जमरा तथा आशिर्वाद ग्रहण गर्ने प्रचलन छ । यसले पनि दशैंमा सवारी साधनमा चाप उल्लेख्य हुन्छ । यस्तो समयमा नेपालमा ईन्धनको अभावकाकारण यातायात व्यबसायी समितिहरुले दशैमा सवारी साधन थप गर्नुपर्नेमा झन कटौती गरेका छन । यसमा उनीहरुको बाध्यता पनि छ । यसमा सबैले समस्याको बिषयबस्तुलाई मनन गरेर सजगता र संयमता अपनाउन जरुरी छ । सरकारले पनि ईन्धनको उचित व्यबस्थापन गर्नुपर्ने देखिन्छ ।
दशैं धनी गरिब, ठुला साना सबैले आफ्नो शक्ति र गच्छे अनुसार बडो श्रद्धा भक्तिसाथ मान्ने गर्दछन् । पहिले पहिले यो पर्वलाई नयाँ लगाउने र मिठो खाने पर्वका रुपमा पनि लिईने गरिन्थ्यो । आफूले जोहो गर्न नसक्नेहरुले पनि ऋण धन गरेर आवश्यक पर्ने मिठा खाद्यान्न, लुगा–फाटो, खाने पिने चीज वस्तुहरूको जोहो गरेर आनन्दपूर्वक चाड मनाउदै आएका नेपालीहरुलाई अहिले भने परिस्थितिले ठगेको छ ।
हुनत नेपालीहरुको घर आँगनमा घटस्थापनापछि नै दशैंको चहलपहल शुरु हुनु पर्ने हो । अभावै अभावमा गुज्रिनु पर्ने परिस्थितिले गर्दा कतै पनि दशैको खासै चहलपहल देखिएको छैन । दशैं वर्षदिनको कामबाट केहीदिन भएपनि फुर्सद, पारिवारिक जमघट, इष्टमित्र साथीभाईसँगको भेटघाट, मिठो खाने, राम्रो लगाउने चाडको रुपमा नेपालीले मनाउँदै आएको चाड हो । झण्डै ८० प्रतिशत हिन्दु धर्मावलम्वीहरु रहेको हाम्रो देशमा परम्परागत रुपमा दशैंको विशेष महत्व रहेको छ । हिन्दु धर्ममा दशैंलाई रावणमाथि रामको अर्थात् असत्यमाथि सत्यको विजयको रुपमा मनाउने पर्वको रुपमा लिइन्छ । दशैंको चहलपहलसँगै नेपालमा यतिबेला एकातिर नयाँ संविधानको रौनक पनि ह्वात्तै बढेको छ भने अर्कोतिर मधेश आन्दोलन र भारतको अघोषित नाकावन्दिको मार पनि परेको छ ।
असत्यमाथि सत्यको बिजयको रुपमा मनाइने दशैंले राजनीतिक रुपमा पनि असत्यमाथि बिजय प्राप्त गर्न सकोस, हालै जारी भएको संविधानको सफल कार्यान्वयन होस्, सबैमा समृद्धि मिलोस, मुलुकमा देखिएको समस्या तत्कालै हल गर्न सक्ने शक्ति दुर्गा माताले सवैलाई प्रदान गरुन । हाम्रो पनि सबैलाई बडा दशैं २०७२ सालको हार्दिक मंगलमय शुभकामना !!!