विभिन्न अन्तर्राष्ट्रिय खेलमा आफ्नो छुट्टै छवि बनाउन सफल क्रिकेट खेलमा पनि त्यत्तिकै विवाद देखिएको छ । केही समय अघि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा दिनु, टोलीका कप्तान पारस खड्काको विवादास्पद अभिव्यक्तिलगायतले यस क्षेत्रमा रहेको विवादलाई सबैका सामु छरपष्ट पारिदिएको थियो ।
स्मरणीय छ मुख्य प्रशिक्षक दासानायकेले नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । दासानायकेकै प्रशिक्षणमा नेपालले डिभिजन १ सम्मको यात्रा तय गर्न सफल भएको थियो । उहाँले सम्हाल्नुअघि नेपाल डिभिजन ४ मा थियो ।
उहाँकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको थियो, जुन नेपाली क्रिकेट इतिहासमा नै अहिलेसम्मकै ठूलो उपलब्धि हो ।
क्रिकेट खेलाडी पारस खड्कालाई कप्तान पदबाट हटाउने विषयमा पनि निकै विवाद चल्यो । त्यतिमात्र नभई क्रिकेट खेलाडीले नेपाल क्रिकेट सङ्घ (क्यान) को व्यवस्थापन पक्ष कमजोर भएको भन्दै नयाँ कार्यसमितिको माग समेत गरेका छन् ।
मुलुकको प्रतिष्ठासँग गाँसिएको फुटबलमा बढेको आर्थिक अनियमितता मात्र नभई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीबीचको आन्तरिक द्वन्द्व सार्वजनिक लेखा समिति सम्म पुगे पनि निकास निस्किएको छैन । हालै सार्वजनिक भएको खेल मिलोमतो (म्याच फिक्सिङ)को अभियोगमा प्रशिक्षक एवम् खेलाडीलाई हिरासतमा लिनुपरेको कटु यथार्थले पनि राष्ट्रको गरिमामा आँच आएको छ ।
खेलकुद क्षेत्रका यिनै समस्यालाई समाधान गर्ने उद्देश्यका साथ व्यवस्थापिका संसद्, महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको हालै सम्पन्न बैठकले सांसद् मोहनकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा सांसद गणेश थापा, रामहरि सुवेदी, निशा शाह र जीवन परियार छन् ।
खेलकुद क्षेत्रका समस्या शीघ्र पहिचान गरी समाधानका लागि प्रयत्न गर्नेमा आफू प्रतिबद्ध रहेको कार्यदलका संयोजक राईले बताउनुभयो । विभिन्न खेलकुद सङ्घका पदाधिकारी, खेलकुद विशेषज्ञ र खेलाडीसँग आन्तरिक छलफल गरेर चाँडोभन्दा चाँडो समस्याको निकास खोज्ने दृढता उहाँले व्यक्त गर्नुुभयो ।
खेलकुद क्षेत्रमा अनेकन समस्या रहेकाले यसलाई राम्ररी बुझेका सांसद जयन्ती राई र शारदा पौडेललाई पनि कार्यदलको सदस्यमा मनोनित गर्ने योजनामा कार्यदल रहेको सांसद राईले जानकारी दिनुभयो । रासस