काँग्रेसको राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

166

काँग्रेसको राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

NC-Party-Officeकाठमाडौँ, ७ कात्तिक । नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै उम्मेदवार चयनको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ ।
नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीको आज भएको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अर्को बैठकले उम्मेदवारसम्बन्धी निर्णय गर्नेछ । बैठकले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग परामर्श गरेर अगाडि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकपछि सञ्चारकर्मीहरूलाई बताउनुभयो ।
व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै बैठकले अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडावर्ग, महिला, दलित, मुस्लिमलगायतको अधिकार सुनिश्चित गर्न संशोधन अपरिहार्य भएको ठहर बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल भारत सीमा नाकामा उत्पन्न अवरोध कूटनीतिक माध्यमबाट तत्काल अन्त्य गर्न सरकारलाई सुझाउँदै बैठकले देशभर देखिएको अत्यावश्यक वस्तुको अभाव हटाउनुपर्ने आवश्यकता औँल्याएको छ ।