काठमाडौं/नेपाली काँग्रेसले विजयादशमीका अवसरमा राजधानीमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गर्यो।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न १ बजेदेखि सुरु भएको कार्यक्रममा काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यहरुले आगन्तुकको स्वागत गरेका थिए।यसअघि काँग्रेसले प्रत्येक वर्ष पार्टी केन्द्रीय कार्यालय बिपी नगर सानेपामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस पटक भने रङ्गशालामा गरिएको हो । मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका काँग्रेसका नेता बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना हुँदै आएको छ।कोइराला २०३३ पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि काँग्रेसले प्रत्येक वर्षको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान गरिँदै आएको हो । कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष सभामुख, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष, नेकपा (एमाले)का वरिष्ठ नेता एवम् नेता, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष, राष्ट्रिय जनमोर्चाका अध्यक्षलगायत विभिन्न दलका नेता एवं कार्यकर्ता तथा बुद्धिजीवी, सर्वसाधारणको सहभागिता थियो।