बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित

577

बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित

बुटवल, भदौ । बुटवल उपमहानगरपालिकाको आर्थिक बर्ष ०७४÷०७५ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

बुधबारदेखि सुरु भएको नगरसभामा उपप्रमुख गोमादेवी आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संशोधनसहित सर्वसम्मतले बिहीबार पारित भएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उक्त नगरसभामा वार्षिक नीति तथा कार्यक्रमका अतिरिक्त आर्थिक विधेयक, कर्मचारीको आचारसंहिता, पदाधिकारीहरुको आचारसंहिता समेत प्रस्ताव गरिएको थियो । यी विधेयक पनि सर्वसम्मतले पारित भएका छन् ।

नीति तथा कार्यक्रममा कृषि, खानेपानी पर्यटन, उद्योग व्यापार तथा व्यवसाय, सहकारी, वित्तीय क्षेत्र, सीप विकास तथा रोजगार प्रवद्र्धन, आयआर्जन, युवा तथा खेलकुद, शिक्षा सम्बन्धी नीति संघसंस्था समन्वय तथा परिचालन, साहित्य कला संस्कृति प्रवद्र्धन, सामाजिक परिचालन र जनस्वास्थ्य प्रवद्र्धनलगायतका विभिन्न विषयहरु समेटिएको छ । ‘शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, कृषि, उद्योग र व्यापार–बुटवल उपमहानगरको विकासको मूलआधार’ भन्ने नाराका साथ बुटवलको समग्र विकासका लागि सार्वजनिक निजी साझेदारीलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा रहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

बिहीबारको नगरसभा बैठकमा न्यायिक समितिलाई पूर्णता दिनुका साथै विभिन्न समितिहरुसमेत गठन भएका छन् । संविधानमा व्यवस्था भएको उपप्रमुख संयोजक रहने न्यायिक समितिमा नगरसभाका सदस्यहरु शिवबहादुर अधिकारी र गोमती सुनार रहेका छन् ।

यसैगरी नगरसभाले आचारसंहिता अनुगमन समिति गठन गरेको छ । नगरसभाका सदस्य दधिराम न्यौपानेको संयोजकत्वमा गठित समितिमा चम्पा रेग्मी र नविन थापा सदस्य छन् ।

यसैगरी नगरसभाले लेखा समिति पनि गठन गरेको छ । कृष्णप्रसाद भुसाल संयोजक रहेको समितिमा गोमा ज्ञवाली र खुमानन्द पौडेल सदस्यमा चयन भएका छन् । नगरसभाका सदस्य भवानीप्रसाद सुवेदीको संयोजकत्वमा सरस्वती परियार र सुरेन्द्र श्रेष्ठ सदस्य रहेको विधेयक समिति पनि गठन भएको छ । नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा संशोधन दर्ता गराएका सदस्यहरुले आआफ्ना सुझाव राखेका थिए । नगरसभाको अर्को बैठक भदौ ४ गते दिउसो १ बजे बस्ने कार्यक्रम रहेको प्रवक्ता रेग्मीले जाकारी दिनुभयो ।