भारतसंग झुक्दैनौं’: प्रचण्ड

1.3K

भारतसंग झुक्दैनौं’: प्रचण्ड

parchandबुटवल । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग नझुक्ने बताएका छन् । भारतले संविधान निर्माणपछि असन्तुष्टि जनाउँदै गरेको अघोषित नाकाबन्दीतर्फ संकेत गर्दै भने–‘जति नाकाबन्दी र असहज अवस्था रहे पनि हामी झुक्नेवाला छैनौं, नेपालीहरु अन्तिम समयसम्म लडिरहनेछन्, हामीलाई जबरजस्ती झुकाउन खोजिएको छ, राष्ट्रियताको सवालमा सबै नेपाली एक ढिक्का भएर अन्तिमसमयसम्म लडिरहनेछौं ।’

उनले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न आवश्यक रहेको भन्दै भने–राष्ट्रलाई अहिले संकट परेको छ, यो अवस्थामा हामी अनेक ढंगले यसलाई सुल्झाउने प्रयत्न गरिरहेका छौं, यदि हामीले समाधान गर्न चाहदा पनि संभव भएन भने हामी कसैसँग झुक्दैनौं, राष्ट्रलाई समृद्ध बनाउनतर्फ लाग्छौं ।’

बर्तमान समस्या समाधानका लागि भारतसंग मित्रता कायम गर्दै अघि बढ्ने बताउदै उनले त्यसका लागि पहल भइरहेको बताए । संविधानको बिरोधमा आन्दोलन गरिरहेको मधेशी मोर्चा र भारतीय नाकाबन्दीमा सम्बन्ध रहेको बताउदै उनले मधेशी दलसंग बर्ताबाट समस्या समाधान गर्न सरकार तत्पर रहेको बताए ।

विश्वको सबैभन्दा उत्कृष्ट र प्रगतिशिल संविधान नेपालको रहेको भन्दै यसमा सबैभन्दा बढी अधिकार मधेशीले नै पाएको उनको दाबी छ । उनले आन्दोलन छोडेर बार्तामा आउन मधेशी दललाई समेत आग्रह गरे । उच्च स्तरीय संयन्त्रका संयोजक समेत रहेका प्रचण्डले निकासका लागि कांग्रेसलाई पनि संगसगै लिएर अघि बढिने बताए ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईले आत्मघाती निर्णय गरेर ठूलो गल्ती गरेको बताए । ‘बाबुरामका कारण एमाओबादीले मात्रै दुःख पाएको छैन, अहिले सबै नेपालीलाई बाबुरामजीले दुःख दिनुभएको छ, उहाले ठूलो गल्ती गर्नुभयो भन्ने मैले यस अघि नै भनेको थिए–उनले भने ।

नेपालको हितमा बाबुरामको निर्णय छैन्, आफ्नै हितमा पनि छैन, उनले भने । ‘बाबुरामलाई २५ वर्ष मैले झेले, अहिले सबै नेपालीले पनि झेलेका छन्, सबैले मिलेर दुःख झेल्दा मलाई खुसी छै लागेको छ, उनले भने ।

उनी उपप्रधानमन्त्री तथा एमाओबादी सचिव टोपबहादुर रायमाझीसहित बुटवल आएका छन् । पत्रकारसंग रायमाझीले बाबुराम भट्टराईले ठूलो गल्ती गरेको भन्दै उनकै कारण नेपालले अहिले दुःख पाएको दोहार्‍याए ।