काठमाडौं ,मंसिर १६/ -कांग्रेस नेता नरहरि आचार्यले आफू दुईपटक संविधानसभा सदस्यमा निर्वाचित भएको क्षेत्र काठमाडौं-५ बाट उठेका पार्टीका उम्मेदवार प्रकाशशरण महतलाई सहयोग गर्न मतदातालाई अपिल गरेका छन् ।
उनले स्वास्थ्यका कारण आफू यसपटक उम्मेदवार हुन नसकेको उल्लेख गर्दै आफ्नो क्षेत्रबाट उठेका कांग्रेस उम्मेदवार महतलाई सहयोग गर्न आफ्ना मतदातालाई आग्रह गरेका हुन् । ‘यसपल्ट अस्वस्थताका कारण म उपचारका क्रममा छु । कांग्रेसले काठमाडौं–५ बाट महतलाई प्रतिनिधिसभाको उम्मेदवार खडा गरेको छ । उहाँ मेरो मित्र हुनुहुन्छ । महतले पार्टी र सरकारमा रहेर कुशलतापूर्वक महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नु भएको छ । संविधानसभा सदस्यका रूपमा समेत उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो’आचार्यद्वारा शनिबार जारी विज्ञप्तिमा छ ।
आचार्यले ‘यस क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा पुग्न महत योग्य रहेको कुरामा म विश्वस्त छु’भन्दै त्यसैले यस क्षेत्रका सम्पूर्ण मतदातालाई यसपटक महतलाई सहयोग गर्न अनुरोध गरेका छन् । उनले विज्ञप्तिमा यस क्षेत्रको प्रदेशसभा सिट ‘क’ र ‘ख’मा उठेका रमा गुरागाईं र रमेश खड्कालाई समेत सबै मतदाताको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
उनले कांग्रेसको नेतृत्वमा संविधानसभाबाट संविधान बनेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्नसमेत प्रतिनिधिसभामा कांग्रेसको नेतृत्व र बहुमत आवश्यक रहेको उल्लेख गरेका छन् । उनले लोकतन्त्रको संस्थागत विकास गर्न यो निर्वाचन महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरेका छन् ।