कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सिएको छ-प्रधानमन्त्री देउवा

247

कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सिएको छ-प्रधानमन्त्री  देउवा

डडेल्धुरा१८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेकोे समावेशी संबिधान खारेज गर्न बाम गठबन्धन भएको बताउनुभएको छ ।
प्रतिनिधि तथा प्रदेश सभाका लागि चुनाव प्रचारप्रसारको क्रममा गृह जिल्ला डडेल्धुरा पुग्नु भएका देउवाले जिल्लाको गाङखेत , नवदुर्गा २ बडम , गन्यापधुरा ३ सकायल , वडा नं. २ बुडालका चुनावी आम सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले एमाले र माओवादीले अहिलेको संबिधान च्यातेर निरंकुश शासन चलाउने संबिधान बनाउने नियत राखेको देखाएको छ ।
प्रधानमन्त्री देउवाले सबै समुदायको अधिकार र समृद्धिका लागि बनेको संबिधानलाई संशोधन गरेर एक दलीय सत्ता संचालन गर्ने कम्युनिष्टहरुको रणनीतिलाई विफल पार्न यो निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन मतदातालाई अपिल गर्नुभएको थियो ।
सुदूरपश्चिमको विकासका लागि पश्चिममा रहेको पञ्चेश्वर र पूर्वमा कर्णाली तथा मध्य भागमा रहेको पश्चिम सेती निर्माण गर्नै प्रकृया अन्तिम चरणमा रहेकोले यस क्षेत्रको बेरोजगारीलाई ती आयोजनाको निर्माणबाट समाधान गर्न सकिने विश्वास उहाँले गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आईहाल्छ कि भनेर एमाले तर्सिएको बताउदै एमाले अध्यक्ष ओलीको छुद्र भाषा त्यसैको परिणाम भएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले सोमवार डडेल्धुराको गाङखेत , नवदुर्गा २ बडम , गन्यापधुरा ३ सकायल , वडा नं. २ बडाल गरि चार स्थानमा चुनावी आम सभालाई सम्बोधन गर्नु भएको छ । साँझ उहाँले सदरमुकामको मुख्य बजारमा पैदल हिंडेर मतदाता भेटघाट पनि गर्नुहुने भएको छ ।