समृद्धिको यात्रा आरम्भ भयो : उपराष्ट्रपति पुन

582

समृद्धिको यात्रा आरम्भ भयो : उपराष्ट्रपति पुन

बुटवल, ६ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक राजनीतिक संक्रमणको अन्त्य भई शान्ति र स्थायित्वतिर अगाडी बढेको बताउनु भएको छ । उहाँले नेपाली जनताको लामो संघर्षपछि मुलुकमा संविधान प्राप्त भएको र संवैधानिक व्यबस्था अनुसार स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसंगै संमृद्धिको यात्रा आरम्भ भएको बताउनु भयो ।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को बिहीबार उद्घाटन गर्दै उहाँले अव समृद्धि भन्दा ठूलो एजेण्डा नभएकाले अवको प्रतिस्पर्धा संमृद्धिसंग हुनुपर्ने बताउनु भयो । मुलुकमा प्रकृतिले अनुपम उपहार दिएको र समृद्धिका प्रसस्त आधार भएको बताउँदै उप राष्ट्रपति पुनले संमृद्धिकालागि स्वच्छ प्रतिस्पर्धा गर्न उहाँले आह्वान गर्नुभयो ।

उपराष्ट्रपति पुनले देशभित्र खुलेका उद्योगधन्दालाई संरक्षण संवद्र्धन र बिकास गर्न तथा आयात निर्यात नीति सुधार गरि निर्यातमुखी नीति निर्माणमा जोड दिँदै झन्झटिला नीति नियमलाई सुधार गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले अव मुलुकमा औद्योगिक बिकासको विकल्प नभएको बताउँदै मुलुक भित्र औद्योगिक बिकास गरि रोजगारीकालागि विदेशिने प्रबृत्ति रोक्नु पर्ने र गरिबि अन्त्य गर्नुपर्ने दायित्व रहेको बताउनु भयो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्लामा लगानी आकर्षण गर्ने सन्देश दिनुपर्ने बताउनु भयो । उहाँले देशभरीका उद्योगी व्यबसायी तथा लगानी कर्तालाई उद्योग स्थापनाकालागि रुपन्देही जिल्लामा जमिन, लगानीको वातावरण र सुरक्षा सबै हिसावले राम्रो भएको सन्देश दिनेगरी राष्ट्रिय स्तरको लगानी सम्मेलन गर्न सुझाव दिनुभयो ।

एमाले उपमहासचिव समेत रहनु भएका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पौडेलले बुटवल १० रामनगर स्थित प्रदर्शनी स्थलमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न सम्मेलन केन्द्र र प्रदर्शनी स्थल निर्माण गर्न बजेटको पहल भईरहेको बताउँदै विदेशी लगानी कर्तालाई समेत आकर्षण गर्नेगरी मोतिपुर औद्योगिक क्षेत्र निर्माण गरिने बताउनु भयो ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अव मुलुकमा राजनीतिक स्थायित्व हुने आशा र विश्वास व्यक्त गर्दै संमृद्धिकालागि लगानी बृद्धिगर्ने वातावरण बनाउन प्रमुख राजनीतिक दलका नेतृत्व र अब बन्ने सरकारलाई आग्रह गर्नुभयो । उहाँले अबको दश वर्ष भित्रमा दक्षिण एसियाको सबैभन्दा राम्रो र संमृद्ध मुलुक बनाउन चाहेको बताउँदै गरिखाने वातावरण बनाउन आग्रह गर्नुभयो । गरिखाने वातावरण भएमात्रै उद्यमशीलताको बिकास हुने उहाँको भनाई थियो ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष एबं प्रदर्शनी मुल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीले औद्योगिक बिकासमा मात्रै मुलुकको संमृद्धि सम्भव रहेको बताउँदै मुलुकको बिकासकालागि औद्योगिक बिकासको वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नव निर्वाचित प्रदेश सभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाली काँग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डे, संघका पूर्व अध्यक्ष एजाज आलम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, प्रदर्शनीका सहसंयोजक तथा संघका उपाध्यक्ष महेश थैव, महासविच माधव पौडेल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

यहि पुस १८ गतेसम्म सञ्चालन गरिने प्रदर्शनीमा बिभिन्न प्रकृतिका ५ सय स्टल समावेश गरिएको छ भने ६ लाख दर्शक भित्र्याउने र करिव २० करोडको कारोवार गर्ने लक्ष्य आयोजकको छ ।