तिहारमा स्वास्थ्यमैत्री मिठाईको पहिचान-डा. प्रकाश बुढाथोकी

617

तिहारमा स्वास्थ्यमैत्री मिठाईको पहिचान-डा. प्रकाश बुढाथोकी

Prakash-Budhathokiमानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको श्रृंखलामा स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि र अन्तरालमा आउने चाडपर्वमा आवश्यक भन्दा बढी मात्रामा गुलियो, चिल्लो र गरिष्ट खाना खाने हाम्रो बानी परेको छ । तिहार भन्ने बित्तिकै सेल, रोटी, वर्फी, लड्डु, रसवरी, रिंगऐठा, लालमोहन, अनरसा, फिनी, ल्वाङफूल, लाखभरी, विभिन्न मिठाई, फलफूल अनी मरमसलाको याद आउँछ । खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको प्रायः देखिन्छ । प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धुम्रपानको फूर्तीफार्ती र बासीत्यासी अचार नभए तथा नाचगान, देउसीभैंलो, गफगाफ र जुवातास नखेले चाड माने जस्तो नहुने सोंचाई पनि धेरैमा पाइन्छ ।
खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ जसले गर्दा अपच, अमिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिगंटा लाग्ने, आँखा पोल्ने, विझाउने, रातो हुने, वान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर), उच्च रक्तचाप, मुटु सम्बन्धी, मृगौला सम्बन्धी, कलेजो सम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ ।
मिठाई
हरेक चाडवाडमा पसलका मिठाईहरु किन्ने चलन बढ्दो छ तर हिजोआज बजारमा उपलब्ध विभिन्न प्रकारका मिठाइसँगै रोगहरु पनि किनिरहेका छौं किनभने   सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकोले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु २ साता अघिदेखि नै बनाइन्छ । अर्को अस्वस्थ बानी जब चाडपर्व वा मिठाईको बिक्रीको समय आउँछ, तब पसलेले मिठाई ढोका बाहिर आगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धुँवा, धुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिंगा, किरा लागी संक्रमित बनाइरहेका हुन्छन् । विभिन्न प्रकारका रंगहरु, सिम्रिक, सिन्दुर, अविर, नीर, रोडामीन बी, ब्रिलीयन्ट ग्रीन, मालाचीट ग्रीन, मेटालीन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामीन, केशरी तथा चम्पारंग र बढी मात्रामा खाद्य रंगहरु क्यारोटीन, एनाटो, विकजीन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडेटियो पीर्जरभेटीभहरु प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्दछन् ।
मिठाईमा खुवाको खपत बढी हुने भएकोले उपभोक्ताको मागलाई धान्न र बढी मुनाफा कमाउन खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउँछन् जस्ले पेटमा खराबी पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, वान्ता आउने, हैजा लाग्नेसम्म हुन्छ र निम्न गुणस्तरको घिउको प्रयोगबाट घाँटीमा समस्या उत्पन्न हुनुका साथै श्वासप्रश्वास सम्बन्धी रोग देखा पर्दछ । रंग मिश्रित वा दूषित घिउ तेलको प्रयोगले रक्तकोषीकाहरु विशाक्त भई शरीरमा रगत कम हुने समस्या, रोगसँग लड्ने क्षमता घट्छ, भित्री कोमल अंगहरु जस्तै कलेजो, मुटु, मृगौला, कमजोर हुन्छन्, क्यान्सर हुने संभावना बढेर जान्छ, चर्मरोग लाग्ने प्रवल संभावना हुन्छ, बाझोपन हुनसक्छ, आँखा, कान कमजोर हुनसक्छ, सन्तान लुला, लंगडा एवं अपाङ्ग हुनसक्छन्, सन्तानलाई ट्यूमर, क्यान्सर हुन सक्छ । पुरुषको विजकोष मार्दै लिङ्ग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मृर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोगका देखिन सक्छ ।
चाडपर्व प्रमुखतया तिहारको बेला अस्पतालको पाहुना बन्ने इच्छा छैन भने कि त गुणस्तरको ग्यारेन्टी गर्ने पसलबाट मिठाई किन्नुस् की घरमै मिठाई बनाउन प्रयोग गरिने सामग्रीहरु जम्मा पारी बनाउनुपर्दछ । मिठाईमा प्रयोग हुने दाल, बदाम, पिठो र नरिवलको धुलोमा मिसावट हुनसक्ने भएकोले घरमा ल्याएर आफैले पिध्नुस् वा आफ्नो अगाडि पिध्न लगाउनुहोस्, बजारबाट तयारी सामग्री नकिन्नुहोस् । यदि किन्नै परेमा
–    खाद्य रंग राखी बनाइएका मिठाईभन्दा अखाद्य रंग प्रयोग गरेका मिठाई बढी गाढा रंगका देखिन्छन् ।
–    खाद्यपदार्थलाई प्लास्टिकले बेरेर र भ्याकुम बनाएर फ्रीजमा नराख्ने गर्नुपर्दछ ।
–    प्लाष्टिकले बेरेर वा ¥यापिङ गरेका सामान १,२ दिनमा प्लास्टिकले अखाद्य बनाउछ ।
–    भरिसक्य रंग प्रयोग नगरिएका मिठाई खानु राम्रो हुन्छ ।
–   एक पटक प्रयोग गरिसकेको तेल र घीउलाई फेरि प्रयोग गरे चाँडै सड्छन् त्यसैले प्रयोग गर्नु हँुदैन ।
–    डब्बाका मिठाई खोलेको २४ घण्टाभित्र खानसकिन्छ तर घरमा बनाईएको मिठाई जतिसक्यो छिटो तथा ढिलोमा २४ घण्टामा सकी सक्न पर्दछ ।
–   ढुसी परेका ओसिएका काजु, मकै, बदाम, सुपारी आदि मसला खानु हुँदैन ।
–   फलफूल किन्दा पनि दाग नलागेका, रंगिन, कार्वाइड राखी पकाइएका नकिनी सफा र ताजा छान्नुपर्दछ ।
–  टल्कने, प्लास्टिकले बेरिएका फलफुल नकिन्ने गरौ । यदि यस्ता खाद्यपदार्थ किनिएका भए त्यो महजस्तो टासिएको वेक्स फललाई २ देखी ५ मिनट तातो पानिमा डुवाएर पखालेर वा फलको बाहिरी तह पत्र काटेर फयाक्नुपर्दछ तब मात्र खानुपर्दछ ।
– मिठाई छिट्टै बिग्रने र केही दिनसम्म प्रयोग गर्न मिल्ने दुवै थरी मिठाईलाई  छुट्टाछुट्टै प्याकेटमा राख्ने, बिक्रेताले उपभोक्तालाई प्रष्टसँग भनिदिने, मिठाईमा उत्पादन मिति र प्रयोग मिति अनिवार्य लेख्ने जस्ता कुरामा तबसम्म व्यापारीले गदैनन जबसम्म उपभोक्ता सचेत हुँदैनन् तबसम्म मिसावट समस्या रहीरहन्छ र स्वास्थ्यमा हानीकारक असर परिरहन्छ ।
अब त अखाद्य बस्तुको मिसावटको मात्र समस्या रहेन यहाँ अस्वस्थ र दुषितपनाको समस्या पनि पराकाष्ठाकै रुपमा देखिए । राजधानीमै नाम चलेका कम्पनी र पसलले बिषाक्त रसायन र हानिकारक बस्तु मिसाएर मिठाई फोहोर र दुर्गन्धित स्थानमा बनाईरहेका र बेचिरहेका हामी सवैले सुन्न र हेर्न पनि पायौ । दुर्गन्धित,फोहोर पानी, हिलाम्मे भुई, मुसा, बिरालाका दिसा, झिगां, माकुरा, साङ्ला, मौरी मरिरहेका डम्पीङ साईट जस्तै देखिने स्थानमा, अनुगमनकारी एक हातले नाक छोप्दै अर्काे हातले लगाएको पाईण्ट तानीरहेका देखिन्थे । त्यस्ता सडेगलेका, फोहर र मिसावटयुक्त खाद्यपदार्थले संक्रमणयुक्त रोग हैजा, फुड प्वाईजन, पेट दुख्ने, झाडापखाला, जण्डिस, टाईफाईड देखि दिर्घकालीन मिर्गाेला, कलेजोमा ह्रास, अनिद्रा डिप्रेसन, बहुलाउने क्यान्सरसम्म हुनसक्छ ।
तसर्थ खतरनाक रंग, रसायन, औषधि प्रयोग गर्ने र गरियका खाद्यपदार्थ, फलफुल, तरकारी सेवन गर्नवाट रोक्न एकातिर कडा नियम कानुन, अनुगमन र नियन्त्रणका निम्ति सरकार नै अगाडि बढ्नुपर्दछ भने अर्काेतिर उपभोक्तामा सचेतना आउन जरुरी छ ।
(लुम्बिनी अञ्चल अस्पताल बुटवलका कन्सल्टयाण्ट डेण्टल एण्ड ओरल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य हुनुहुन्छ ।)