‘रुपन्देहीमा पनि औषधीको अभाव देखिन थाल्यो’

441

‘रुपन्देहीमा पनि औषधीको अभाव देखिन थाल्यो’

logoबुटवल । भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभरीमा भईरहेको औषधीको अभाव रुपन्देहीमा पनि देखिन थालेको व्यबसायीहरुले बताएका छन ।
मधेशमा भईरहेको आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण औषधीको आयात हुन नसक्दा स्टकमा रहेका कतिपय औषधी सकिएको औषधी व्यबसायी संघ लुम्बिनीका कार्यवाहक अध्यक्ष शिव ज्ञवालीले बताउनु भयो ।
भारतीय नाकाबन्दीका कारण भारतीय कम्पनीका औषधीहरु आयात हुन पाएका छैनन भने मुलुक भित्र भएको ईन्धन अभावका कारण करिव ४० प्रतिसत स्थान ओगटेको नेपाली उत्पादन पनि बजार पु¥याउन सकिएको छैन । जसका कारण औषधोपचारमा नकारात्मक प्रभाव परेको औषधी व्यबसायी संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले बताउनु भयो ।
नेपालमा नेपाली उत्पादनले ४० प्रतिसत मात्रै स्थान ओगटेको छ भने बाँकी सबै भारतीय कम्पनीमा निर्भर छ । भारत बाहेकका देशबाट आउने औषधी नगन्य मात्रै रहेको संघले जनाएको छ । अबको एक डेढ महिना मित्र कच्चा पदार्थ ल्याउन नपाएर नेपाली उद्योगका औषधीकहरु पनि बन्द हुने उत्पादकहरुले बताईसकेका छन ।
नेपाली उत्पादनकालागि पनि कच्चा पदार्थ आपूर्ति हुन सकेको छैन । जसका कारण बिशेष ब्राण्डका औषधीहरु हुन सक्ने भन्दै संघले सट्टा औषधीको सिफारिस गर्नकालागि चिकित्सकहरुलाई आग्रह गरेको छ ।
नेपाल औषधी व्यबसायी संघ लुम्बिनीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी अहिले बजारमा आईभि फ्लुड बिभिन्न प्रकारका एन्टीबायोटिक्स औषधीहरु, अक्सिजन, ईन्सुलीन जस्ता अत्यावश्यक औषधीहरु, उपचार र सर्जिकलमा प्रयोग हुने बिभिन्न सर्जिकलका सामानहरुको अभाव देखिन थालेको बताएको हो ।
यहि अवस्था कायम रहे अबको १५÷२० दिनमा औषधीको आपूर्तिमा गम्भिर जटिलता सिर्जना हुने भन्दै त्यसतर्फ सचेत रहन स्वास्थ्य मन्त्रालय तथा नेपाल सरकारलाई निवर्तमान केन्द्रीय अध्यक्ष भट्टराईले ध्यानाकर्षण गराउनु भयो ।
उहाँले स्थल मार्गबाट औषधी आयातमा समस्या भए हवाई मार्गबाट भएपनि सहज व्यबस्थापन गर्न सरकारसंग माग गर्नुभयो ।
तत्कालका लागि रुपन्देहीमा त्यस्ता बिशेष औषधीको अभाव नदेखिएपनि सामान्य तर उपचारकोलागि नभई नहुने औषधी तथा सर्जिकलका सामानहरु अभाव हुन थालेको संघका सल्लाहकार डा. रोहितराज क्षेत्रीले बताउनु भयो ।
निश्चित तापक्रम कायम गर्नुपर्ने औषधीहरु महिनौदेखि सिमामा रोकिएका कारण ती औषधीको गुणस्तरमा ह्रास आउने बताउँदै संघका सचिव सुरज भट्टराई त्यसले एकातिर औषधोपचारमा नकारात्मक प्रभावसंगै व्यबसायीको लगानी समेत जोखिममा परेको बताउनु भयो ।
संघका अनुसार नेपालमा वार्षिक करिव ३५ अर्बको औषधीमा कारोवार हुने गरेको छ । जसमा १२ अर्वको सर्जिकल सामान र बाँकीको शुद्ध औषधीमा कारोवार हुने गरेको हो ।