छाप्रोमा झुल्किएन चाड !

छाप्रोमा झुल्किएन चाड !

logoप्रशन्न पोखरेल/ गोरखा । ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘किसानको रहर’ कवितामा उल्लेख गरेजस्तै पीडा गोरखा भूम्लिचोक–८ हिक्लुङ्गका बुधुराम चेपाङको छाप्रोमा छ । बाख्रा पाल्न बनाएको खोरमा सात महिनादेखि चेपाङको परिवार बस्दै आएको छ । पाँच सदस्यीय उनको परिवार त्यही खोरमा बस्छन् ।

देवकोटाको कवितामा उल्लेख भएझैं चेपाङको आँगनमा बिहानीपख घाम झुल्किँदैन । सानो सुर्कोमा चारैतिर भाटा गाडेर चेपाङ परिवार दुःखजेलो गर्दै दिनरात कटाउँदै आएका छन् । यसवर्षको दसैंमा मिठो, मसिनो खान नपाएको चेपाङ परिवारमा अर्को ठूलो चाड तिहार मनाउने पनि कुनै तयारी छैन । चाडपर्वको खुसियाली भन्दा बढ्दै गएको चिसोमा कसरी बालबच्चा हुर्काउने भन्ने चिन्ताले बुधुराम रातभर अनिँदै छन् ।

उनका १० वर्षका छोरा डिलबहादुर र छोरी नजिकैको थुम्का प्राविमा पढ्छन् । सरकारले दिएको किताब भएपनि कापी र कलमको अभावमा उनीहरु छन् । ‘बाख्राको खोरमा बसेका छौं, कहाँ बस्ने, कहाँ खाने रु’ चेपाङले गुनासो पोखे – ‘झुप्रो भने पनि घर थियो । भूकम्पले भत्काइदियो ।’ भत्केको घरभित्रबाट झिकेको लत्ताकपडा समेत राख्ने ठाउँको अभावले तल्लो गराको झिक्रोमा राखेको चेपाङले बताए ।

गुन्द्री ओच्छाएर एकसरो लुगामै चेपाङ परिवार रात काट्छन् । ‘गर्मीयाममा त शीतल हुन्छ,’ उनले अनुभव सुनाए – ‘जाडोमा हातखुट्टै काठिन्छ, आफ्नो हो कि अर्काको पत्तो हुँदैन । शरीर चिसो हुन्छ ।’ चेपाङको घरमा चिया खाने चलन छैन । बिहानैदेखि साहूको मेला जान पाए भने उनीहरु मख्ख हुन्छन् । कारण – मेलामा भात र दिउँसो खाजा पाइन्छ । पोल्टामा हालेर ल्याएको त्यही खाजा बाँडिचुँडी गरेर चेपाङ परिवारले जीवन निर्वाह गर्नुपरेको छ । साथै काम पाएर ज्याला थापेको दिनमा भने चेपाङ परिवारको घरमा चुल्हो बल्छ, खाना पाक्छ ।

भूम्लिचोकका बुधुरामको छाप्रोमा मात्रै होइन, यस्तो पीडा भूकम्पपछि गोरखाको पाँच ओटा गाविसका विभिन्न ठाउँमा बसोबास गर्दै आएका चेपाङ परिवारको छ ।

चेपाङ लोपोन्मुख जाति अन्तर्गत पर्छ । सरकारले बर्सेनि जनता आवास कार्यक्रम अन्तर्गत चेपाङ परिवारलाई शौचालय, भाडा माझ्ने रछ्यानसहितको घर निर्माण गरिदिँदै आएको छ । सरकारले बनाइदिएको घर पनि भूकम्पले गर्दा ढलेपछि चेपाङहरु थप चिन्तामा छन् । रु। १५ हजार राहत थापेका चेपाङहरुले जस्तापाताले बारेको छाप्रो बनाएर गुजारा चलाए पनि राहत नपाएकाहरु भने अझै त्रिपाल टाँगेर कष्टपूर्ण तवरले बस्दै आएका छन् ।

जिल्लाको भूम्लिचोक, मकैसिङ, ताक्लुङ्ग, घ्याल्चोक र ताङ्लीचोक गाविसमा चेपाङहरुको बसोबास छ । केही चेपाङहरुले तरकारी खेती, बाख्रापालन, कुखुरापालन गरेर जीवन निर्वाह गर्न सुरु गरेपनि अधिकांश चेपाङ परिवार अझै ज्याला मजदुरीको भरमा जीवनयापन गर्छन् ।

चेपाङ समुदाय र परिवारमा मात्रै होइन, भूकम्पपछि जिल्लाभर टहरोमा बस्दै आएका भूकम्पपीडितहरुले खुसियालीसाथ चाडपर्व मनाउन पाएनन् । बुंकोट ६ की ७६ वर्षीया हीरामाया श्रेष्ठले पनि त्रिपाल टाँगेर बनाएको छाप्रोमा दसैं मनाइन् । कष्टपूर्ण तवरले भएपनि त्यही छाप्रोमा तिहार मनाउने उनीहरुको तयारी छ । घरमा छोराछोरी छैनन्, बुढाबूढी मात्रै छन् । सरकारले टहरो बनाउन जस्तापाता दिएपनि कामदारको अभावले गर्दा त्रिपालको ठाउँमा जस्ताको छानो लगाउन नसकिएको श्रेष्ठले बताइन् । श्रेष्ठका छोरा वैदेशिक रोजगारीमा छन् । ‘दसैं आएजस्तो भएन,’ श्रेष्ठले भनिन् – ‘तिहार पनि लाग्यो । छाप्रोमा कहाँ दीपावली गर्नू रु’ छाप्रो साँघुरो भएकाले खेतिबाली थन्क्याउन समस्या परेको श्रेष्ठले गुनासो गरेकी छिन् ।

बारपाकका शेरबहादुर गुरुङ्गले पनि अहिलेसम्म टहरो बनाएका छैनन् । धार्चेको लेकमा, बुद्ध हिमालको नजिकैका डाँडाहरुमा हिउँ झरिसक्यो । यसवर्ष पहिलेभन्दा चाँडै चिसो बढेपछि हिउँ परेको बताउँदै गुरुङ्गले लाग्दो पुस महिनामै बारपाकमा हिउँ झर्ने अनुमान गरे । ‘हिउँ परेपछि त्रिपालमा त के जस्ताले छाएको टहरोले पनि धान्दैन,’ उनले भने । सरकारले पुनःनिर्माणको काममा ढिलाइ गर्दा बारपाकका ७५ प्रतिशत भूकम्पपीडितको जाडो कष्टपूर्ण हुने देखिएको छ ।

गुप्सीपाखामा बस्दा बिहान–बेलुकीको चिसो हावाले लाप्राकका वृद्धवृद्धा बिरामी हुँदै आएका छन् । भूकम्पले ५९४ घरधुरी बस्नै नहुने गरी भत्काएपछि लाप्राकी भूकम्पपीडित स्थानीय सामुदायिक वनको जग्गामा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । लाप्राकीहरुले त्रिपाल छाडेर जस्तापाताले छाएको, बेरेको टहरो निर्माण गरेका छन् । हिउँदमा गुप्सीपाखामा पनि हिउँ पर्ने भएकाले जाडो कसरी कटाउने भन्ने चिन्ता लाप्राकीलाई पनि छ ।

भूकम्पबाट अति प्रभावित सौरपानी, घ्याच्चोक, सिम्जुङ्ग, मुच्चोक, जौवारी, छोप्राक, हंशपुर, खरिबोट, हर्मी, बुंकोट, बोर्लाङ्ग, आरुचनौटे, थुमी, थालाजुङ्ग, छोप्राक, स्वाँरा, ताकुकोट, गुम्दा, लापु, केरौंजा, मान्वु, काशीगाउँ र सिर्दिवास क्षेत्रमा दसैं खल्लो भएको भूकम्पपीडितहरु बताउँछन् । पुनःनिर्माणको काम ढिलाइ भएको र नाकाबन्दीले समेत समस्या पारेका बेला परेको तिहारमा पनि भूकम्पपीडित खुसी देखिएनन् ।

सिर्दिवासदेखि तिब्बतसँग सिमाना जोडिएका सामागाउँ, ल्हो, प्रोक, बिही, छेकम्पार र चुम्चेत गाविसका भूकम्पपीडितले ल्होसार मनाउँछन् । अरु बेला आलु, करु, गहुँ, फापर खाने उनीहरुले ल्होसारमा भने भात खाने, सेता अक्षता लगाउने गर्छन् । भूकम्पपछि भत्केको मनास्लु पदमार्ग नखोल्दा यसवर्षको ल्होसार रमाइलो नहुने सङ्केत देखिएको भूकम्पपीडितको भनाइ छ । चुम्चेत हुँदै छेकम्पार पुग्ने चुमभ्याली पदमार्गको सर्ती खोलामा पुल निर्माण भएपनि अबरुद्ध मनास्लु पदमार्ग नखोलेसम्म खाद्यान्न ढुवानी गर्न नसकिने चुम्चेतका शेराप गुरुङ्ग बताउँछन् ।

‘पदमार्ग बनाउनुप¥यो भनेर गाउँलेहरुको डेलिगेशन पनि आएका हुन्, जिविस र स्थानीय प्रशासनले बेवास्ता ग¥यो,’ गुरुङ्गले भने । हेलिकप्टरबाट ढुवानी गरेको खाद्यान्नले उत्तरी भेगका स्थानीय जनतालाई खर्च नपुग्ने गुरुङ्गले जनाए । उत्तरी भेगका स्थानीय जनताको सहज जीवनयापनका लागि मनास्लु पदमार्ग छिटो खुलाउने र पुनःनिर्माणको कामलाई सरकारले प्राथमिकताका साथ सुरु गरेमा मात्रै अहिलेको अन्योलपूर्ण अवस्थाको अन्त्य हुने सरकोकारवालाहरु बताउँछन् । रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •