स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग

684

स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग

बुटवल, २४ जेठ । नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले अनाथ बालबालिकालाई सहयोग प्रदान गरेको छ । संघको २८ औं स्थापना दिवसको अवसर पारेर संघले शुक्रबार मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रममा आश्रित बालबालिकालाई व्यक्तिगत सरसफाईका सामाग्रि सहित लत्ता कपडा प्रदान गरेको हो ।

त्यस अवसरमा संघका जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँसण, संघका केन्द्रीय सचिव नमनारायण वेलवासेले उक्त अनाथ आश्रममा आश्रित बालबालिकालाई संघले प्रदान गरेको सामाग्रि हस्तान्त्रण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रज्जाकले अनाथ आश्रममा आश्रित बालबालिकालाई दैनिक उपभोग्य सामाग्रि प्रदान गरेर राम्रो काम गरेको भन्दै संघप्रति आभार व्यक्त गर्नुभयो । उहाँले अनाथ बालबालिकाको संरक्षण गर्ने दायित्व सरकारको भएपनि व्यक्तिगत पहलमा अनाथ बालबालिकाको संरक्षण गरेकामा आश्रमकी संस्थापक मैनादेवी भण्डारीलाई आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै काँग्रेस रुपन्देहीका सचिव खाँणले संघले गर्ने रचनात्मक कार्यक्रममा पार्टीको सधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका केन्द्रीय सचिव वेलवासेले, नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डे, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, संघका युवा संयोजक मदन पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रजातान्त्रिक बिचारमा आस्था राख्ने स्वास्थ्यकर्मीहरुको भेलाले २०४८ जेठ २४ गते डा. चोपलाल भुसालको अध्यक्षतामा नेपाल स्वास्थ्यकर्मी संघ गठन भएको थियो ।