‘बुटवललाई सुरक्षित पर्यटकीय नगरिका रुपमा बिकास गरौं’

884

‘बुटवललाई सुरक्षित पर्यटकीय नगरिका रुपमा बिकास गरौं’

बुटवल, ३२ जेठ । सुरक्षित पर्यटकीय नगरीका रुपमा बुटवललाई विकास गर्नु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् । बुटवल प्रदेशको अस्थायी राजधानी पनि भएकाले राजधानीमा शान्ति सुरक्षाको दृष्टिकोणले राम्रो छ भन्ने सन्देश दिनु पर्ने उनीहरुले बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले हालै ईलाका प्रहरी कार्यालय बुटवलमा आउनु भएका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईको स्वागतमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले शान्ति सरक्षामा जोड दिँदै व्यबसायी र प्रहरी बिचको सहकार्यले शान्ति सुरक्षालाई मजबुद बनाउन सकिने बताएका हुन् ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक भट्टराईले समाजमा रहेका सबै पक्षबाट कानुनको पालना हुने हो भने शान्ति सुरक्षामा कुनै असर नपर्ने बताउँदै यस क्षेत्रको शान्ति सुरक्षा कायम गराउने कुरामा कुनै कसर बाँकी नराख्ने र त्यसमा सबैको साथ हुनु पर्ने बताउनु भयो । उहाँले व्यवसायीलाई हतोत्सायीत बनाउने गरी प्रहरी प्रशासन परिचालन नहुने बताउदै होटल व्यबसायीलाई आएका ग्राहकको परिचय खुल्नेगरी विवरण चुस्त राख्न पनि आग्रह गर्नुभयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बुटवललाई सुन्दर शहरका रुपमा विकास गर्न रात्रीकालिन समयमा पनि व्यवसाय खुल्ला गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो । उहाँले प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई पर्यटन प्रवद्र्धनकालागि पनि मुलुकभरी नै शान्ति सुरक्षाको राम्रो प्रवन्ध भएको शहरका रुपमा चिनाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवनप्रसाद श्रेष्ठ, सल्लाहकार कुलचन्द पाण्डे, पत्रकार यमलाल भुसाल, देवदह उपशाखाका संयोजक टंकप्रसाद पोखरेल, महासचिव माधवकुमार खनाल लगायतले व्यवसायीले गरेको लगानीको सुरक्षाका लागि बुटवल क्षेत्रमा रात्रीकालिन कम्तिमा १२ बजेसम्म व्यबसाय खुल्ला राख्ने र उपभोक्ता समेत आउने वातावरण तयार गर्न आग्रह गर्नुभएको थियो ।