पोखरेली मसिनो धान विस्थापन गर्दै जेठोबूढो

1K

पोखरेली मसिनो धान विस्थापन गर्दै जेठोबूढो

paddyपोखरा । कास्कीमा पछिल्ला वर्षमा परम्परागत रूपमा रोपिने धान विस्तारै हराउन थालेका छन् । यहाँका किसानको रुचि आजभोलि नयाँ धानतर्फ बढेको छ ।
विगतमा टारी खेतका साथै यहाँका फाँटमा रोपिने धेरै धानका जात पूर्ण रुपमै लोप भै सकेका छन् भने कैयौं धान लोप हुने अवस्थामा पुगेका छन् ।
उपत्यका, तालतलैया र सिमसार क्षेत्र जस्ता विविधतायुक्त भू–बनौट पाइने कास्की जिल्लामा लगभग एक सयभन्दा बढी जातका धान लगाइन्छ ।
कास्कीमा लगभग एक दशक अघिसम्म प्रचलनमा आएका समुद्रफिंजा, नाभो, आँगा, वले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भैसकेका छन् । उचाइका दृष्टिले करिब तीनसयदेखि छसय मिटरको उचाइमा फल्ने यी धान यहाँका रैथाने जात हुन् ।
परम्परागत रूपमा रोपिँदै आइएका पोखरेली मसिनो(पहेंले), मनसरा, विरमफुल, ठिमाहा, ताकमारे, खोलेमार्सी, रमन, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, आँघा, तौली, मार्सी, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, वर्मेली, एक्ले जस्ता धान विस्थापित हुने अवस्थामा पुगेको कृषकहरू बताउँछन् ।
त्यस्तै, कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो वयर्नी, कालो अनदी लगायतका धान पनि पछिल्ला समयमा आएका वर्णशङ्कर धानले विस्थापन गरिसकेको छ ।
पछिल्ला समयमा यी धानको साटो सुधारिएको जेठोबूढो, खुमल, राधा, जर्नेली, बासमती र सुनौलो सुगन्धा रोप्न थालिएको छ ।
विगतमा कास्की मात्र नभएर देशभर नै चर्चा पाउने गरेको पोखरेली मसिनो (पहेँले) धान रोप्ने ठाउँमा पछिल्ला वर्षमा जेठोबूढो धान रोप्न थालिएको छ । जेठोबूढोप्रति बढेको अहिलेको आकर्षण हेर्दा यसले पहेंले धानलाई नै विस्थापन गरिदिने संभावना प्रवल रूपमा देखापरेको छ ।
पहेँले जस्तै मगमग बास्ना आउने टारी खेतमा हुने अर्को विरमफुल धान पनि विस्तारै लोप हुँदै जाने अवस्थामा छ । पछिल्ला वर्षमा लेखनाथका केही टारीका साथै भरतपोखरीको खुर्वादी लगायतका स्थानमा फाट्टफुट्ट रापिने यो धान पनि लगभग लोप हुने अवस्थामा छ ।
विगतमा मगमग बास्ना आउने पहेंले र विरमफुल जस्ता धानमा पछिल्ला वर्षमा आएर भने बास्ना हराउँदै जान थालेको कृषकहरूको अनुभव छ ।
पछिल्ला समयमा राम्रो बीउ संरक्षण नगर्ने, बढी रासायनिक मलको प्रयोग गर्ने जस्ता कारणले पहेंले, विरमफुल जस्ता धानमा वास्ना कम हुँदै गएको हुनसक्ने लिबर्डका बाली प्रजनन शाखाका कार्यक्रम अधिकृत राजीव ढकालले बताउनुहुन्छ ।
“उत्पादन बढी खोज्ने गरी बढेको व्यावसायिकताले पनि रैथाने धान विस्थापन हुँदै नयाँ हाइब्रिडप्रति कृषकको आकर्षण बढेको हो” – उहाँले भन्नुभयो ।
कास्कीमा विगतमा टारी खेतमा उत्पादन हुने गरेका जर्नेली, रमनी, बिरमफुल, नालतुम्बे, मन्सरा, झौरी, तौली जातका बीउ नै यतिखेर पाउन मुस्किल भैसकेको भरतपोखरीका रामप्रसाद लामिछाने बताउनुहुन्छ ।
शरीर दुखेमा पुवा बनाएर औषधिका रूपमा खाने गरिएको रातो अनदी, आँगा, बयर्नी, समुद्रफिंजा, नाबो, बले, जिरासिरी, फल्याङकोटे जस्ता धानको बीउ लगभग मासिइसकेको उहाँले बताउनुभयो ।
“पछिल्लो समयमा बास्नायुक्त र औषधीय गुण भएका धानमा भन्दा पनि कसरी धेरै उत्पादन लिने भन्नेतर्फ मात्र सोच बढेका कारण हाइब्रिड जातका धान बढी चलनचल्तीमा आएको हो” – लामिछानेले भन्नुभयो ।
विगतमा पहेंले धान रोपिने कास्कीको कुँडहर, विरौटा लगायतका स्थानमा अहिले कृषकहरू पहेंले छोडेर जेठोबूढोतर्फ लोभिएका छन् ।
स्वादिलो र बास्नादार भएकाले यो धान सबैको रोजाइ बनेको पोखरा कुँडहरका दिनेश पराजुली बताउनुहुन्छ ।
“फेवा, बिरुवा, कुँडहर र लेखनाथका फाँटहरूमा पछिल्ला वर्षमा जेठोबूढो लगाउन थालिएको छ,” उहाँले भन्नुभयो – “स्वादिलो भएकाले यसको माग पोखरामा मात्र नभएर धादिङ, काठमाडौँ लगायतका स्थानमा पनि उत्तिकै छ ।”
कृषिकर्मप्रतिको घट्दो रुचिका साथै अधिकांश खेतमा खेतका धनीले रोप्न चासो नदेखाउँदा रैथाने जातका धान लोप हुँदै गएका हुन् । “पहिले पहिले बीउ जोगाउने कुरा धेरै महत्वको विषय हुन्थ्यो,” कृषक हेमलाल सुवेदीले भन्नुभयो, “किसानले राम्रो बीउ राख्न सुरु मै राम्रो फलेको ठाउँको धानको बाला झिकेर(बल्याउने) बीउका लागि जोगाएर राख्थे । अहिले बीउ बल्याउन झन्झट मान्छन् ।”
अहिले आफूले खाइसकेर बचेको धानलाई मात्र बीउका रूपमा प्रयोग गर्ने गरिएको उहाँको भनाइ छ । लेखनाथको पटनेरीमा भने अझै पनि पहेंले धान मै कृषकको रुचि देखिएको स्थानीय कृषक कोपिला विश्वकर्माले बताउनुभयो ।
“पटनेरीमा पहेंले धान राम्रो फल्ने गरेको छ, यहाँ जेठोबूढो भन्दा पहेंले नै राम्रो उत्पादन हुन्छ,” उहाँले भन्नुभयो – “बजारमा पनि पहेंलेको अझै राम्रो माग छ । यहाँको रैथाने थान पहेंले नै हो ।”
व्यावसायिक रूपमा राम्रो फल्ने धानको खोजीमा लागेका कृषकहरूले पछिल्ला वर्षमा राधा–७, खुमल–४, सिएच–४५, राधा–९, खुमल–७, पोखरेली जेठोबूढो धान बढी मात्रामा रोप्ने गरेका छन् ।
कास्कीका उच्च क्षेत्रमा विगतमा छोमरुङ्ग, सिलाङ्गे, ताकमारे, मानपुरी लगायतका धान लगाइने गरिएकामा ती पनि विस्तारै लोपोन्मुख अवस्थामा पुगेका छन् ।
लुम्ले कृषि अनुसन्धान केन्द्रले लगभग एक हजार पाँचसय मिटरभन्दा बढी उचाइमा लगाइने धानबारे अनुसन्धान गरिरहेको केन्द्रका प्रमुख धनबहादुर घर्तीले बताउनुभयो ।
केन्द्रका वैज्ञानिक अमृत पौडेलका अनुसार उच्च पहाडी भू–भागमा लगाइने धेरै रैथाने जातका धान केही लोप भैसकेका छन् र केही लोपोन्मुख अवस्थामा छन् । कास्की जिल्लाका उच्च पहाडी भू–भागमा हाल माछापुच्छ«े–३, लेकाली–१, लेकाली–३ जस्ता नयाँ जातका धान रोप्ने गरिएको उहाँ बताउनुहुन्छ । माछापुच्छ«े–३ धान छोमरुङ स्थानीय र फुजी धानको ‘क्रस’बाट विकास गरिएको नयाँ जात हो ।
उच्च पहाडी भेगमा विगतमा हुने गरेका एक्ले, विरमफुल लगभग लोप हुने अवस्थामा रहेको पौडेलको भनाइ छ । पहाडी भागबाट बसाइँसराइका साथै धेरै किसानको कृषि कर्मप्रतिको अनिच्छाका कारण रैथाने जातका धान हुने धेरै ठाउँहरू बाँझो अवस्थामा रहेको उहाँ बताउनुहुन्छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार कास्कीमा अहिले २६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती भइआएको छ ।
उत्पादनका दृष्टिले कास्कीको सरदर उत्पादन प्रति हेक्टर ३.२५ मेट्रिक टन रहेको कार्यालय प्रमुख रमेश कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष फेवा फाँटमा बाढी पहिरोले गर्दा धान खेत पुरिएको र जिल्लाका केही स्थानमा वर्षा कम भएका कारण लगभग ५ प्रतिशतले उत्पादनमा कमी आएको छ ।
टारी खेतमा परम्परागत कुलोबाट सिँचाइ गर्ने गरिएको छ । कास्कीका बिरुवा, कुँडहर, लेखनाथ, पामे, ठूलाखेत, अर्मला, भलाम, शिशुवा, आर्वा, हेम्जा, पस्र्याङ, भरतपोखरी र सार्दीखोलाका फाँटमा नहरको पानीबाट रोपाइँ गर्ने गरिएको छ ।
पछिल्ला वर्ष यहाँ वर्णशङ्कर जातको पाखे धान लगाउने प्रचलन पनि उत्तिकै बढिरहेको बाली विशेषज्ञहरू बताउँछन् । रासस