गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त : नयाँ सरकार गठनको बाटो खुल्यो

454

गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त : नयाँ सरकार गठनको बाटो खुल्यो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा गत बैशाख २९ मा मुख्यमन्त्री नियुक्त हुनु भएका गुरुङ्ले विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनुभएको हो । मुख्यमन्त्री गुरुङले बिहिबार प्रदेश सभामा विश्वासको मत माग्नु भएको थियो ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा गुरुङको पक्षमा २७ मत परेको थियो भने विपक्षमा ३० मत परेको थियो । मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दिपक मनाङ्गे अनुपस्थित हुनु भएको थियो भने पार्टीले कारवाही गरेर पनि अदालतले पद व्यूताईदिएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटण्थ रहनु भएको थियो । नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका दुई जना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।
मुख्यमन्त्री गुरुङ पदमुक्त भएसंगै गण्डकीमा अब नयाँ सरकार गठनको बाटो खुलेको छ । मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८ (३) अनुसार नियुक्त हुनु भएको थियो । अव संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रकृया सुरु हुनेछ ।
१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ । त्यसै अनुसार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नुपर्नेछ ।
विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गर्नुभएको छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् । कित्ता परिवर्तन गरेका गुरुङ नेतृत्वको सरकारका युवा तथा खेलकुदमन्त्री मनाङ्गेले साथ दिएमा विपक्षी गठबन्धनलाई आवश्यक बहुमत पुग्नेछ । धारा १६८(५) मा मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।