प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपि शर्मा ओलीले पार्टी एक रहेको सन्देश दिनको लागि संयुक्त वक्तव्य दिन नेता माधव नेपाललाई सन्देश पठाउनु भएको छ । अध्यक्ष ओली पार्टीका उपमहासचिव विष्णु पौडेल र नेताहरु सुवासचन्द्र नेम्वाङ् तथा शंकर पोखरेलसंग उक्त सन्देश पठाउनु भएको हो ।
आईतबार बिहान कोटेश्वरमा नेता नेपाललाई भेटेर ओली पक्षका नेताहरुले सोही सन्देश सुनाएका थिए । तर जवाफमा नेता नेपालले दुबै पक्षका कार्यदलका नेताहरुलाई वक्तव्यको मस्यौदा बनाउन आग्रह गर्नुभएको थियो । ओली पक्षका नेताहरुले भने कार्यदल निश्क्रिय भईसकेको र कार्यदल व्यूत्याउन पनि दुई नेता भेट्नुपर्ने जवाफ दिएका थिए । उक्त भेटमा माधव नेपाल पक्षका नेता उपमहासचिव घनश्याम भुसाल समेत सहभागि हुनुहुन्थ्यो ।
सर्बोच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूत्याईदिएपछि अध्यक्ष ओली र नेता नेपाल पक्षबीच विवाद चल्दै आएको छ । संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेको नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए । त्यसमध्ये २३ जना एमालेका सांसद देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग दावी सहित सर्बोच्चमा समेत गएका छन् ।
संवैधानिक ईजलासमा बिचाराधिन यो मुद्धाको सुनुवाई अन्तिममा पुगेको छ । अध्यक्ष ओलीले यो मुद्धाको फैसला आउनु अघि नै हस्ताक्षर फिर्ता गर्न निर्देशन गर्नुभएको छ । तर अध्यक्ष ओलीको निर्देशनमा नेताहरु तयार नभएपछि ओलीले नेता नेपाललाई फकाउने रणनीति अनुसार नेताहरु कोटेश्वर पुगेका हुन् ।