रुपन्देहीको तिलोत्तमामा गठित ‘टोन्टा फाउण्डेसन नेपाल’ले अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । फाउण्डेसनले मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. ११ टोल नं. २ का अति विपन्न ३० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।
कोरोना भाईरस महामारीका कारण काममा जान नपाएका विपन्न परिवारलाई प्रति परिवार २५ किलो चामल, साढे १ किलो दाल, १ किलो नुन, साढे २ किलो आलु, २ किलो प्याज, १ किलो सोयाविन, १ लिटर तेल तथा साबुन र मास्क प्रदान गरिएको प्रतिष्ठानका व्यबस्थापक केशव वेलबासेले जानकारी दिनुभयो । उनीहरुलाई संस्थाका व्यबस्थापक वेलबासे, टोलबिकास समितिका अध्यक्ष केशरबहादुर घर्तीले र संस्थाका स्वयमसेवकहरुले खाद्यान्न वितरण गरेका थिए ।
कोरोना भाईरस संक्रमण महामारी नियन्त्रण तथा रोकथामको लागि सरकारको तर्फबाट प्रशासनले रुपन्देही जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । निषेधाज्ञाको कारण काममा जान नपाएर उनीहरुलाई भोकै बस्नुपर्ने परिस्थिती सिर्जना भएकोले संस्थाले राहत स्वरुप खाद्यान्न प्रदान गरिएको संस्थाका प्रमुख सुरेश विश्वकर्मा बताउनु हुन्छ ।
कोरोना भाईरस महामारीका कारण संकटमा परेका परिवारलाई संस्थाले सुरुदेखि नै सहयोग गर्दै आएको र संकटमा परेकालाई सहयोग गरिने व्यबस्थापक वेलबासे बताउनु हुन्छ । संस्थाले खाद्यान्न प्रदान प्रदान गरेपछि उनीहरु खुसी भएका थिए ।