सुन्तला खेतीको नमुना गाँउ बन्यो सिम्ले

1.3K

सुन्तला खेतीको नमुना गाँउ बन्यो सिम्ले

orange
अर्घाखाँची,  मसिर । भारतमा सिपाहीको जागिर गर्दै गर्दा खान नपाएर आएका नेपाली भन्ने असब्य शब्द सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पणेना गाविसका ७२ बर्षिय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्नुभएको छ ।
२०२७ सालमा भारतमा जागीर गर्दै गर्दा भारतीयले नेपालीहरु प्रती गरेको घृणाको बचन सहन नसकी जागीर छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गर्नुभएको हो ।
उहाँले आफूले मात्रै नभएर सिंङ्गो गाउँलाई नै सुन्तला खेती गर्न प्रेरित गर्नुभयो । यसरी अभियान चलाएकै कारण अहिले त्यो गाउँ सुन्तला खेतीकालागि नमुना गाउँ बनेको छ । सुन्तला खेती सुरु गर्दा उहाँले पैसा हुनेलाई पैसा लिएर त नहुनेलाई श्रम तथा अन्य बस्तु लिएर सुन्तला खेती गर्न अभिप्रेरित गर्नुभएको थियो ।
त्यती बेला सुरु गरेको खेती अहिले उहाँको बारिमा मात्रै बार्षिक ५ लाख रुपैंयाको सुन्तला उत्पादन हुन्छ । उहाँको बारिमा अहिले करिव साढे ५ सय सुन्तला छन । जसको आम्दानीले उहाँको परिवार रमेको छ भने वचत पनि राम्रै भएको छ ।
एक ब्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पणेना गाविस र पोखराथोक गाविसमा समेत प्रमुख बालिको रुपमा बिकास भएको छ । मौषमी खेती भएका कारण पनि सधैभरी त्यसैमा भिड्न नपर्ने र आम्दानी पनि राम्रै हुने भएपछि त्यहाका किसानहरु निकै उत्साहित भएका छन ।
पणेना गाविसमा दुइ सय र वाड न १ सिम्लेमामात्रै झण्डै ६० जना कृषकहरुले अहिले सुन्तला खेतीबाट कम्तिमा ५० हजार देखि १२ लाख सम्म वार्षिक आम्दानी गर्ने बताउँछन ।
पणेना गाबिस वाड न. १ सिम्लेमा बैदेशिक रोजगारिमा गएका युबाहरु पनि रोजगारिबाट फर्किएर ब्यबसायिक सुन्तला खेतीमा लागेका छन । ब्यबसायिक सुन्तला खेतीमा लागेका सिम्लेका हरिप्रसाद पौडेलको बगैचामा झण्डै तीन सय पचास सुन्तलाका बोट रहेका छन । जसबाट बार्षिक २ देखि ३ लाख रुपैया आम्दानी हुने गरेको उहाँले बताउनु भयो ।
सुन्तला बिक्रि वितरणको लागि पनि कुनै समस्या छैन । त्यहाँ उत्पादन भएको सुन्तला प्रति बिलो ४० रुपैया देखि ६० रुपैयामा बुटबलको बजारमा बिक्रि भईरहेको किसानहरु बताउँछन ।
सुन्तला बेचेर मात्रै होईन सुन्तला र सुन्तला जातका बिरुबाको नर्सरी राखि बिरुबाहरु बेचेर पनि सिम्लेका किसान रेवतीराज पौडेलले बार्षिक चार, पाँच लाख रुपैया कमाउनु हुन्छ । उहाँको बगैचामा अहिले सुन्तला, कागती, जुनार इन्डियन किन्नु जातको सुन्तला, जापनिज उन्सु जातको सुन्तलाका बिरुबा रहेका छन । गएको बर्षमात्रै साढे चार लाख रुपैंयाको बिरुबाहरु बिक्रि गरेको र यो बर्ष सुन्तला जातका बिरुबाहरु बिक्रि गर्दा करिव ६ लाख रुपैंया आम्दानी हुने उहाँले बताउनु भयो ।
रोजगारीको लागि भारत र अन्य देशमा गएका नेपालीहरु पनि सिम्लेका हुमनाथको जस्तै बिचार लिएर अगाडी बढ्न सके देशमा कृषिका माध्यमबाट आर्थिक क्रान्ति गर्न सकिने र देशमा असल राजनेता नहुदा नेपालको बिकास हुन नसकेको उहाँले बताउनु भयो ।