ईजाजत विनै नेपाल घुमेर फर्किँदै गरेको भारतीय नम्बर प्लेटको कार बेलहीयाबाट बरामद

1.3K

ईजाजत विनै नेपाल घुमेर फर्किँदै गरेको भारतीय नम्बर प्लेटको कार बेलहीयाबाट बरामद

विना ईजाजत नेपाल प्रवेश गरी विभिन्न स्थान घुमेर फर्किदै गरेको भारतीय नम्बर प्लेटको कार रुपन्देहीको बेलहीयाबाट बरामद गरिएको छ । त्यसरी बरामद गरिएको कारलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
विना भन्सार नेपाल आएर विभिन्न स्थानमा घुमफिर गरी भारत फर्किने क्रममा एम.पी. १९ सि.सि. ६६०२ नम्बरको भारतीय नम्बर प्लेटको कारलाई आईतबार राती करिव पौने १० बजेको समयमा बेलहीयाबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक हप्ता पहिले ईलामको पशुपतिनगर सिमा हुँदै उक्त कार नेपाल प्रवेश गरेको थियो । काठमाण्डौ, पोखरा लगायतका विभिन्न स्थान घुमेर वेलहीया नाका हुँदै फर्किने क्रममा बरामद भएको हो । ईलाका प्रहरी कार्यालय बेलहीयाको टोलीले चेकजाँचका क्रममा नेपाल प्रवेशका लागि आधिकारिक भन्सार पत्र लगायतका कुनै पनि कागजपत्र नभएकाले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताउनु भयो ।
अवैध रुपमा नेपाल प्रवेश गरेको उक्त कार करिव एक हप्ता नेपालका बिभिन्न स्थानमा घुमफिर गरि आईतबार राती भारत फर्किदै थियो । भारतीय नम्बर प्लेटका गाडिहरु नेपाल प्रवेश गर्दा भन्सार गरेर कानुनी प्रकृया पुरा गरी आउनु पर्छ । आवश्यक प्रकृया नगरी अवैध रुपमा नेपाल प्रवेश गरेको २० लाख रुपैंया बराबरको बरामद भएको कार आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाईएको प्रवक्ता पौडेलले बताउनु भयो ।