लुम्बिनीका १२० एम्बुलेन्समा ट्रयाकिङ् सिष्टम

64

लुम्बिनीका १२० एम्बुलेन्समा ट्रयाकिङ् सिष्टम

लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र चल्ने १२० वटा एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिदिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आकस्मिक विरामीलाई समयमै एम्बुलेन्स उपलब्ध गराउन एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिएको मन्त्री ईन्द्रजित थारुले जानकारी गराउनु भयो ।
मन्त्रालयले बिहिबार बुटवलमा मन्त्रालयको वार्षिक प्रगति जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थारुले एम्बुलेन्स ट्रयाकिङका लागि ‘एम्बुलेन्स नेपाल’ नामको मोवाईल एप र निःशुल्क फोन कल मार्फत एम्बुलेन्स सेवा प्रदान गर्न १०२ नम्बरको फोन सहितको प्रादेशिक प्रेशण केन्द्र स्थापना गरिएको जानकारी गराउनु भयो ।
स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दिएको वार्षिक प्रगति विवरण अनुसार लुम्बिनी प्रदेश सरकारले लक्षित जनसंख्याको ९५ प्रतिशतलाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिईएको छ । त्यस्तै ८९ प्रतिशतलाई दोस्रो मात्रा र ३९ प्रतिशतलाई बुष्टर डोज प्रदान गरिएको छ ।
पत्रकार सम्मेलनमा मन्त्री थारुले पछिल्लो समयमा सरकारी अस्पतालहरुमा विरामीको आकर्षण बढ्दै गएको पनि जानकारी गराउनु भयो । उहाँले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नको लागि सरकारको तर्फबाट धेरै प्रयास भईरहेको बताउँदै स्थानीय जडिबुटीहरुको प्रयोग गरेर आयुर्वेदिक औषधी उत्पादन गर्नको लागि दाङको विजौरीमा तयारी गरिएको र आगामी आर्थिक वर्षभित्र सञ्चालनमा आउने जानकारी गराउनु भयो ।
स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनमा २५ बुँदे वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रदेश विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम मार्फत मुटुको भल्व फेर्ने, मृगौला प्रत्यारोपण र क्यान्सर रोग उपचारको लागि २७८ जनालाई सहुलियत प्रदान गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति २ लाख रुपैंया प्रदान गरिएको मन्त्रालयले जनाएको छ । त्यसका लागि मन्त्रालयले ६ वटा सेवा प्रदायक अस्पतालहरुसंग सम्झौता गरिएको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताउनु भयो । त्यस्तै विपन्न नागरिकका लागि दम तथा ब्रोङ्काईटिस उपचार सुविधा मार्फत चालु आर्थिक वर्षमा १ हजार ४७३ जनालाई सेवा प्रदान गरिएको छ । यो कार्यक्रममा प्रतिव्यक्ति वार्षिक ५० हजार रुपैंया उपलब्ध गराईन्छ ।
तराईका ६ जिल्ला बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही र नवलपरासी पश्चिममा रहेका स्वास्थ्य कार्यालयहरु मार्फत थारु समुदायमा सिकलसेल तथा थालेसेमिया रोगको स्क्रिनिङ, निदान, उपचार परामर्श र रोकथामका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको र ती जिल्लामा रहेका ८ वटा अस्पतालमा सिकलसेल परामर्श केन्द्र स्थापना गरि सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
त्यस्तै प्रदेशका मुख्य तीन वटा नाकामा कोभिड लगायतका संक्रमित रोगहरुको निगरानीको लागि हेल्थ डेस्क सञ्चालन गरिएको, प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गरिएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रदेशको स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सकको अभाव, कोभिड, आवश्यक जनशक्तिको अभाव लगायतका कारण अपेक्षकृत कार्यप्रगति हासिल गर्न नसकिएको बताउनु भयो । उहाँले उद्यपी स्वास्थ्य सुधारमा पोजिटिभ ईन्डिकेटर (सकारात्मक सूचक)हरु बढाउन मन्त्रालयको टिम लागि परेको जानकारी गराउनु भयो ।