पाल्पामा जन्मिएर ४३ वर्षदेखि बुटवललाई नै कर्मभूमि बनाएर चिरपरिचित र लोकप्रिय भएका केशवबहादुर थापा सूर्यवंशी बुटवल सुक्खानगरका बासिन्दा हुन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका उनी विद्यार्थी समूहकै नेतृत्व गरी सम्वत् ४६ को जनान्दोलनमा सलंग्न भएका थिए ।
वाणिज्य र मानविकीमा स्नातक तहसम्म अध्ययन गरेका उनी त्यसबीचमा बुटवलको मानवज्ञान स्कूल (हाल कालिका मानवज्ञान मावि)लाई सुदृढ् गराउने अभियानमा लागे । त्यहीँ ५ वर्ष पढाए । वर्षे विदामा निःशुल्क शिक्षण कार्यक्रम संचालन गर्ने अभियानको थालनी गरे । त्यसबेला राष्ट्रिय स्तरमै चर्चित नन्दन पुस्तकालयको स्थापना गरी चार वर्षसम्म त्यसको नेतृत्व गरे । नवलपरासीको दुम्कीवासमा लखन थापा मेमोरियल स्कूल स्थापना गरी नेतृत्व दिए । साहित्य सिर्जना गरेर कथा साहित्यमा राष्ट्रिय व्यक्तित्व बने । अनेक स्मारिका र किताबहरुको सम्पादन गरे । समाजसेवाका अनेक कामहरुमा संलग्न भए । केही वर्ष पत्रकारिता गर्दै बुद्घ सन्देश, राज्यसत्ता, संघीय एक्सप्रेस लगायतका पत्रपत्रिकाहरुमा सम्पादक, स्तम्भ लेखक र सल्लाहकार सम्पादक भएर काम गरे ।
एक कुशल, स्पष्ट र गम्भीर वक्ताका रुपमा समेत चिनिने उनी विद्यार्थीकालमै युवाहरुका बीचमा राष्ट्रिय रुपमा चर्चित वक्ता भइसकेका थिए । नेकपा मालेसँग पार्टी एकीकरण भई एमाले बनेपछि राजनीतिक मतान्तरका कारण उनी २०५३ मा राष्ट्रिय जनमुक्ति पार्टीमा आवद्घ भए । यो त्यही पार्टी थियो जसलाई इतिहासको एउटा कालखण्डमा कम्युनिष्ट राजनीतिमा चर्चाको केन्द्रमा रहेका नेताहरु एम.एस. थापा र गोरे बहादुर खपांगीले ३२ वर्ष अघि समानुपातिक प्रतिनिधित्वको सैद्घान्तिक आधारमा स्थापना गरेका थिए ।
समय क्रममा पार्टीको साधारण सदस्यबाट युवा मोर्चाको नेतृत्व गर्दै केन्द्रीय सदस्य, उपमहासचिव र महासचिव भएर जिम्मेवारी पूरा गर्दै उनी अहिले पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्षको रुपमा कार्यरत छन् । पार्टीलाई सैद्घान्तिक र वैचारिक रुपमा जनपक्षीय र सुदृढ गराउँदै कथित् जातीय राजनीतिको साँघुरो घेराबाट निकालेर सबैको साझा बनाउने अभियानमा उनको प्रमुख भूमिका रहेको छ । पार्टीको कार्यक्रम र संगठन, जनजीविका र राष्ट्रिय मुद्दाहरुमा दृष्टिकोण निर्माण र आन्दोलनको दिशा निर्देशमा निरन्तर लागिरहेका उनी मंसिर ४ गतेको निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका छन् । सूर्यवंशीसँग हाम्रा सम्वाददाताहरुले गरेको कुराकानीको सम्पादित अंश–)
विष्णु पौडेलजस्तो शक्तिशाली नेतासँग चुनावमा भिड्दै हुनुहुन्छ ? कस्तो छ तपाईको चुनावी तयारी र चहलपहल ?
नेता निर्माण गर्ने आम मानिसले हो । इतिहासका निर्माता पनि आम मानिस नै हुन् । त्यसैले शक्तिको स्रोत भनेको आम मानिस नै हो । त्यसैले कुन कुन नेता कति शक्तिशाली छन् भन्ने कुरा हाम्रो सरोकारको विषय होइन । हाम्रो सरोकारको विषय राजनीतिक संघर्ष हो, सत्ता संघर्ष होइन । महाकवि रविन्द्रनाथ ठाकुरले भने झैं यो संघर्षमा एक्लै हिँड्न पनि तयार भएर हामी निस्केका हौँ । यही क्रममा म अहिले रुपन्देही क्षेत्र नं. दुईबाट उम्मेदवार भएर चुनावी मैदानमा छु । तयारी उत्साहजनक ढंगले अघि बढिरहेको छ । सम्पूर्ण तह र तप्काबाट मैले व्यापक समर्थन र सहयोग पाएको छु ।
चुनाव जित्ने तपाईंका आधारहरु के हुन् ?
पहिलो कुरा त म यहाँको पुरानो वासिन्दा हुँ । म यहीँको धूलोमा खेलेर हुर्किएको हुँ । शिक्षा, समाजसेवा, साहित्य र पत्रकारिता हुँदै राजनीतिक यात्रामा हिँड्न बुटवलले नै सिकाएको हो मलाई । ४२ वर्षदेखि बुटवल नै मेरो कर्मभूमि रह्यो । त्यसैले यहाँका युवाहरुले, दाजु दिदीहरुले, बुबाआमाहरुले, बाजेबज्यैहरुले म को हुँ र के गर्दैछु भन्ने कुरा राम्ररी बुझ्नु भएको छ । किशोरहरुले बुझ्दैछन् ।
दोस्रो कुरा, गठबन्धनले हामीलाई पूरापूर समर्थन र सहयोग गरेको छ । स्वतन्त्र युवाहरुको ठूलो जमातले सक्रिय भएर हातेमालो गरेको छ । तेस्रो कुरा, हामीसँग विषयहरु छन् । इस्यूहरु छन् । कुनै दलले घोषणापत्र अनुसार काम नगरेर ढाँटेमा उम्मेदवारको पद वा दलको मान्यता नै खारेज गर्न सकिने ‘राइट टू कोर्ट’ को कानुनी अधिकारको एजेण्डा छ । समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय स्वाधिनताको रक्षा, भ्रष्टाचारको निर्मूलीकरण, पूर्ण सङ्घीयता, नागरिकता र जनजीविकाको अधिकार लगायतका एजेण्डाहरु छन् । जनताले यसपटक एजेण्डा र इमान्दारिता हेरिरहेका छन् ।
अनि स्थानीय एजेण्डाहरु के र कस्ता छन् त ?
छन् । प्रदेश राजधानी खोई ? दुई दशक अघि देखिको झुम्सा खानेपानी योजना खोई ? हरेक वर्ष स्थानीयमा त्रास फैलाउँदै बढ्दै गएको पहिरो नियन्त्रण र सुरक्षाको योजना खोई ? सुकुम्वासीहरुको व्यवस्थित बसाईको योजना खै ? वर्षौअघि बुटवल मण्डपमा शिलान्यास गरिएको बुटवल–नारायणगढ सडक खण्डको विस्तारको काम खोई ? वेलहिया–बुटवलको जस्तो चौडा व्यापारिक सडक त मेचीदेखि महाकालीसम्म थुप्रै छन् तर राजमार्ग चौराहादेखि गोलपार्कसम्म वर्षौदेखि मूल सडकको जुन दुर्दशा छ, त्यस्तो अरु शहरहरुमा कहीँ छ ? मेगा प्रोजेक्टका रुपमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमाथिको लगानीको औचित्य सावित गर्ने योजना र संयन्त्र खोई ? धागो कारखानाको पुर्नसंचालन खोई ? अंग्रेजलाई हराएको जितगढी किल्लालाई पुँजीकरण गरेको खोई ? साहित्य, कला र संस्कृतिको संवद्र्घन खोई ? सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण खोई ? कतै छ सहरमा एउटा मात्रै सार्वजनिक शौचालय ? कहाँ छ रंगमञ्च ? कहाँ छन् नाट्यशाला र डबलीहरु ? व्यवस्थित रोजगारीका लागि हजारौंका संख्यामा पलायन भइरहेको वा डीभीको लाइनमा उभिएका युवा वर्गले साधिरहेको छ–रोजगारी खोई ? विकास खोई ? दशकौंदेखि खोजिएको समृद्घि खोई ?
सवालहरु सयौं छन् । यी सवालहरुको जवाफ नखोजेसम्म राजनीतिमा परम्परागत ढाँट र अपराध जारी रहनेछ । हामी राजनीतिमा परम्परागत अपराधका विरुद्घ उभिएको हौँ । त्यसैले सवाल गर्नु अनिवार्य छ । हाम्रा स्थानीय एजेण्डाहरु यिनै सवालहरुमा केन्द्रित छन् । हामी यी सबै समस्याहरुलाई शीघ्र र सरल ढंगले समाधान गर्ने प्रविधि र दृष्टि हामीसँग छ । लगातार चुनाव जित्नलाई भोट बैंक बचाइराख्न मुद्दाहरुलाई अल्झाइराख्ने बल्झाइराख्ने प्रवृत्ति विरुद्घ जुझ्नुको विकल्प हामीसँग छैन । किनभने हामी वैकल्पिक शक्ति हौं ।
दुई पक्षीय चुनावी द्वन्द्वमा प्रतिद्वन्द्वीले विकासका पूर्वाधार निर्माणका लागि अर्बौ बजेट ल्याएर जनतामा राम्रो एप्रोच र एक्सेस बनाइसकेकाले उनको हाइटलाई चुनौति दिन गाह्रो त छ नि है ?
कति बजेट आयो भन्ने कुराले केही अर्थ राख्छ तर बजेट कति आयो भन्दा पनि त्यो के मा र कसरी सदुपयोग वा दुस्पयोग भन्ने कुराले बढी अर्थ राख्छ । पटक पटक सरकारको नेतृत्व गरेको, अर्थ मन्त्रालय सम्हालेको जनप्रतिनिधिको क्षेत्रमा दस बाह्र अरब हाराहारीको मात्रै बजेट आउनु कुन उपलब्धि भयो ? तपाईं अरु जिल्लामा गएको बजेट पनि हेर्नुस् । अनि दुई दशक बढीमा जुन विकास भएको भनिन्छ, त्यो विकासमा रिभोलुशन होइन, इभोलुशन मात्रै हो । इभोलुशन त जो कोही सत्तामा गए पनि हुन्छ, हुन्छ । आजको पुस्ताले बिकासमा इभोलुशनले मात्रै सन्तुष्ट हुन सक्दैन । रिभोलुशन खोजेको छ ।
तपाईंले जस्तै मलाई धेरैले हाइटको फण्डा सुनाएका छन् । म हाइटमा विश्वास गर्दिन । म कर्म र निरन्तर कर्ममा विश्वास गर्दछु । अढाई दशकको राजनीतिक संघर्षमा आम मानिसले मलाई यही सिकाएका छन् । अनि यो हेभीवेट र हाइटको जुन कुरा छ नि, त्यो त आम मानिसले उम्मेदवारको कथित् हाइट मात्रै सुनुन्, तिनको अनुहार नदेखुन् भनेर ल्याइएको प्रष्ट छ किनभने तिनका अनुहारमा अनेक काण्डका काला काला धब्बा छन् र मुखबाट बासी घोषणपत्रको गन्ध आइरहेको छ ।
चुनाव जित्ने कुरामा आशावादी हुनुहुन्छ ?
हामी देश र आम मानिसको जीवन बदल्न हिँडेका हौँ । हामीलाई निराश हुने छुट छैन । जीतमा हामी आशा गर्दैनौँ, एक सय एक प्रतिशत विश्वास गर्दछौं । हामीलाई आफैप्रति अविश्वास गर्ने छुट छैन ।
हेर्नोस्, सोह्र ३६ कुलाईका लागि तिनाउमा झाराको काम गर्दागर्दै, तिनाउमा पौडी खेल्दाखेल्दै, तिनाउको बाढी– विध्वंशको पीडा बोध गर्दै र तिनाउको पानी पिउँदै हुर्केको एक साधारण किसानको छोरा हुँ म । मलाई तिनाउको भूगोल र आयतन राम्ररी थाहा छ । मलाई तिनाउको गहिराई थाहा छ । मैले यही कर्मभूमि बनाएर आएको छु । चार दशक बढी यसैसँग दुःखसुख बाँडेको छु । त्यसैले म बुटवल र सेरोफेरोलाई आत्मादेखि नै चिन्दछु । म यो क्षेत्रको सुखदुःख, यसको सपना र यथार्थ, इतिहास र वर्तमानसँग परिचित छु । अब यसको भविष्य बदल्नु छ । त्यो जिम्मा हाम्रै काँधमा छ । यही जिम्मेवारीबोधका कारण मैले सबैको विश्वास पाएको छु । त्यही विश्वासले मलाई जिताउँछ ।
गठबन्धनले तपाईंलाई समर्थन ग¥यो । अहिले गठबन्धनसँग सहयात्रा गर्दै हुनुहुन्छ । यो गठजोड लामै जान्छ कि चुनावसम्म मात्रै हो ?
हाम्रा मुद्दाहरुमा हामीले गठबन्धनलाई कन्भिन्स गर्न सकेर लान सकेसम्म र गठबन्धनको मुद्दामा हामी कन्भिन्स भएर जान सकेसम्म सहकार्य र सहयात्रा गर्दा उपलब्धिमूलक नै हुन्छ । हामी यसमा स्पष्ट छौं ।
चुनाव जित्नुभयो भने संसद्मा तपाईंहरुको भूमिका कस्तो रहन्छ ?
पत्रकारिताको पनि एक विद्यार्थी भएको नाताले तपाईंहरुको प्रेस जगत भनेको आवाजविहीनहरुको आवाज हो भन्ने एउटा परिभाषा मलाई थाहा छ । तर बेला बेलामा टाउको उठाउन खोज्ने प्रतिगमनकारी पुरातन राजनीतिको भूतले आम मानिसको आवाजलाई सँधै लत्याउँदै आएको छ । राज्यको चौथो अंग प्रेसको आवाज समेत निमोठ्न खोजेको छ । संसद् भनेको जनताको आवाज उठाउने ठाउँ हो । मुद्दाहरुमा राष्ट्रिय नीति निर्धारण गर्ने ठाउँ हो । कानुन बनाउने ठाउँ हो । जनमतलाई अभिव्यक्त गर्ने ठाउँ हो । जनताको आकांक्षालाई सम्बोधन गर्ने ठाउँ हो । तर यो कुरालाई बिर्सेर प्रतिगमनकारीहरु केवल खोक्रा विकास निर्माणका आश्वासन मात्रै बाँडिरहेका छन् । तिनलाई एउटा सांसदको भूमिका के हुनु पर्दछ भन्ने कुरा समेत थाहा छैन । दशकौंदेखि सांसद भएर खोक्रा आश्वासन बाँड्ने बाहेक तिनले तिनले के गरिरहेका छन् ? संसद्मा नजाने, गए पनि हाइ काड्ने, निदाउने, नेताको भाषणमा ताली पिट्ने, कनिका छरेजस्तै बजेट छरेर आफ्नै स्वार्थ पूरा गर्ने बाहेक के गरेका छन् तिनले ? केवल भत्ता तथा सुविधा मात्रै कुम्ल्याइरहेका न छन् ! हामीले त्यस्तो कदापी गर्ने छैनौं । हामी जन आवाजको पहरेदार र प्रतिध्वनि बन्ने छौं ।
अन्तमा यो भन्दिनोस्, जनताले तपाईको चुनाव चिन्ह घरमै किन भोट हाल्ने ?
समृद्घिको एजेण्डा कुनै दलको विशेषको एजेण्डा होइन । यो एक राष्ट्रिय एजेण्डा हो । तर भ्रष्टाचारको अन्त्य त्यसको पहिलो शर्त हो । हामी यसमा प्रष्ट छौं । हाम्रो पहिलो आवश्यकता गास, बास र कपास नै हो । त्यसको जोहो नगरी हामी कुनै आकाश खसाल्न सक्दैनौं । हामी चाहन्छौं सबैभन्दा पहिले धरती ओच्छयाएर अनि आकाश ओढेर लालपुर्जाको सपना देख्दै सुत्न अभिशप्त नेपालीहरुको कम्तीमा पनि एउटा व्यवस्थित घर होस् । बिहान काम गर्न सक्नेहरु त्यो घरबाट उत्साहपूर्वक काममा जान पाउन्, साँझमा सन्तोषले फेर्न पाउन । त्यो घरभित्र नानीहरुले खुसी पाउन्, वृद्घहरुले शान्तिले सास फेर्न पाउन् । त्यो घरभित्र नानीहरुको कापीकिताब होस् । वृद्घहरुका लागि औषधि र पोषक तत्व होस् । त्यो घरभित्र कमसेकम साँझबिहानमा सजिलै पाक्ने दालभात होस् ।
एउटा त्यस्तो घर जुन घरको हामीले दशकौंदेखि सपना देखिरहेका छौं, चाँडोभन्दा चाँडो त्यस्तो घर सबैको हुनु पर्दछ । त्यसैका लागि हामी सम्पूर्णलाई चुनाव चिन्ह घरमा भोट हाल्न अनुरोध गरिरहेका छौं ।