कृषि उत्पादन तथा वनपैदावारमा आधारित उद्योगमा लगानी गरौं : राष्ट्रपति भण्डारी

63

कृषि उत्पादन तथा वनपैदावारमा आधारित उद्योगमा लगानी गरौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आयात प्रतिस्थापन गर्ने बस्तुको उत्पादनमा जोड दिनु भएको छ । उहाँले मुलुकको व्यापार घाटा बढीरहेको र आयात बृद्धिले विदेशी सञ्चितिमा गिरावट भईरहेको बताउँदै व्यापार घाटा घटाउनको लागि कृषि उत्पादन तथा वनपैदावारमा आधारित उद्योगमा लगानी बढाउनु पर्ने भनाई राख्नुभयो ।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगका उत्पादनले आयात प्रतिस्थापन, रोजगारीका नयाँ अवसर सिर्जना गर्न र निर्यात पर्वद्धन पनि गर्न सकिने भनाई राख्नुभयो । यसै क्षेत्रमा रहेको धार्मिक पर्यटकीय केन्द्र लुम्बिनीको पर्यटन विकासमा उहाँले जोड दिनुभयो ।

व्याजदर नघटाए सरकारले हस्तक्षप गर्छ : गृहमन्त्री खाँण

कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तिय संस्थामा बृद्धि भईरहेको व्याजदर घटाउन आग्रह गर्दै त्यसो नभएमा सरकारले हस्तक्षप गर्ने चेतावनी दिनुभयो । मुलुकमा भईरहेका आर्थिक मन्दिका कारण उद्योग व्यापार व्यवसाय पलायन हुने अवस्था आएको बताउँदै उहाँले बैंक तथा वित्तिय संस्थालाई गम्भिर बन्न आग्रह गर्नुभयो । ‘उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने र समाधान गर्ने सरकारको दायित्व हो ।’ गृहमन्त्री खाँणले भन्नुभयो–‘तपाईहरुको साथमा सरकार र सरकारका सबै अंगहरु हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छु, यो हामी सबैको साझा दायित्व हो ।’ उहाँले विकासका काममा आफ्नो पनि प्रयत्न रहेन विश्वास दिलाउनु भयो ।
प्रदर्शनी आयोजक मुल समितिका संयोजक समेत रहनुभएका रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बैंक तथा वित्तिय संस्थाहरुले व्याजदरमा गरेको बृद्धि, खुला सिमा नाका लगायतका कारण यस क्षेत्रका उद्योगी व्यवसायी मारमा परको भन्दा ती समस्या समाधान गरिदिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले औद्योगिक विकास र उत्पादित बस्तुको प्रवद्र्धनको लागि प्रदर्शनी आयोजना गरिएको जानकारी गराउँदै यसले मुलुकको औद्योगिक विकासमा टेवा पुग्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराकासाथ बुटवल मण्डपमा आयोजना गरिएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा विभिन्न १० वटा पेभिलियनमा ४५० स्टल राखिएको छ ।
रुपन्देही उद्योग संघ सहित लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाण्डौ समेतको आयोजनामा १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार गर्ने लक्ष्य मेला आयोजक मुल समितिका सहसंयोजक जीवकान्त काफ्लेले बताउनु भयो । त्यस्तै प्रदर्शनीमा प्रवेशको लागि टिकटमा ६० रुपैंया र विद्यार्थीलाई ५० रुपैंयाको व्यवस्था मिलाईएको छ । प्रदर्शनीमा विक्रि भएको प्रत्येक टिकटबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि ४ रुपैंया र शिक्षा क्षेत्रको लागि ४ रुपैंया छुट्याईएको उहाँले बताउनु भयो ।