वैज्ञानिकको दाबीः काठमाडौंमा ठूलो भूकम्पको जोखिम कायमै

680

वैज्ञानिकको दाबीः काठमाडौंमा ठूलो भूकम्पको जोखिम कायमै

kathmandu-1

काठमाडौं । नेपालमा गत वैशाख १२ को जस्तै ठूलो भूकम्पको जोखिम अझै रहेको एक अध्ययनले देखाएको छ । जमिनमूनिको चट्टान अझै पनि स्थिर नभइसकेकाले केहि वर्ष वा दशकभित्र ठूलो भूकम्प जाने सम्भावना सोमबार प्रकाशित अध्ययन प्रतिवेदनले औंल्याएको हो ।

‘नेचर जिओसाइन्स’ नामको जर्नलमा वैज्ञानिकहरुले काठमाडौंको भूमि अझै पनि ठूलो भूकम्पको जोखिममा रहेको दावी गरेका छन् । प्रमुख लेखक अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक इलियटले गत वैशाखमा काठमाडौंको जमिनमूनिको फल्टलाइन फुट्दा त्यसको असर माथिसम्म नपुगेको बताए ।

सामान्यतया एक शताब्दीभित्र एकभन्दा बढी ठूलो भूकम्प नजाने मान्यता यहाँ लागू नहुने उनको भनाइ छ । ‘त्यतिबेला भूमिगत चट्टान फट्दा काठमाडौंको सतहबाट ११ किलोमिटर मुनीसम्म मात्रै चिरा परेको थियो,’ उनले लेखेका छन् ।

हालै मात्र भूउपग्रहमार्फत खिचिएका ‘हाई रिजोलुसन’युक्त तस्वीरहरुले भूकम्पको सानो परिमाणमात्र सतहसम्म पुगेको देखाएको छ । इलियट लेख्छन्, ‘अघिल्लोपटक नफुटेको माथिल्लो भाग अहिले निरन्तर दबावमा छ । यो सतहबाट धेरै नजिक भएकाले भविष्यमा फुट्यो भने काठमाडौंमा पहिलेभन्दा धेरै ठूलो हलचलको जोखिम देखिन्छ ।’

अर्को भूकम्प कहिले जान्छ भन्ने विषयमा चाहिँ ठोस अनुमान गर्न नसकिने इलियटको भनाइ छ । ‘भूकम्पको पूर्वानुमान गर्ने कुनै विधी नभएकाले पूर्व तयारी नै यसबाट बच्ने एक मात्र उपाय हो,’ उनले भने ।

नेपाल दुईवटा टेक्टोनिक प्लेटहरुको बीचमा रहेको ठूलो फल्ट लाइनमा अवस्थित रहेको वैज्ञानिकहरु बताउँछन् । भारतको जमिनमूनि रहेको दक्षिणतर्फको प्लेटले प्रतिवर्ष दुई सेन्टिमिटरका दरले पूर्व र उत्तरतर्फ धक्का दिइरहेको उनीहरुको भनाइ छ ।