सैनामैनाका पर्यटकीय क्षेत्रकाे बिकास गर्न लुम्बिनीसँग जोड्नुपर्छ

10

सैनामैनाका पर्यटकीय क्षेत्रकाे बिकास गर्न लुम्बिनीसँग जोड्नुपर्छ

रुपन्देहीको सैनामैना क्षेत्रलाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्नेमा सम्बद्ध सरोकारवालाहरुले धारणा व्यक्त गरेका छन् । सैनामैना पर्यटकीय सम्भावना बोकेको नगर भएको र यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्वीक र प्राकृतिक स्थलहरुको व्यवस्थित तरिकाले प्रवद्र्धन र विकास हुनुपर्ने उनीहरुको भनाइ छ ।
छैटौ राष्ट्रिय सैनामैना, कृषि, पर्यटन, प्रवधि तथा औद्योगिक व्यापार महोत्सवको अवसरमा मंगलबार महोत्सव स्थल मुर्गियामा पर्यटन प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
अन्तरक्रियामा सहभागीहरुले सैनामैनाको रानीकुवा क्षेत्र र पर्रोहा परमेश्वर बोलबम धामलाई नगरको पर्यटकीय पहिचानको रुपमा अघि बढाउनुपर्ने विचार व्यक्त गरेका थिए। सैनामैनालाई लुम्बिनी प्रवेशमार्गको रुपमा प्रचार तथा प्रवद्र्धन गरि पर्यटकीय चहलपहल बढाउनुपर्ने उनीहरुले बताए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको बुद्धकालिन स्थललाई लुम्बिनीसँग जोड्न प्रयत्न गरिरहेको जानकारी दिनुभयाे । रानीकुवा र राजाकुवा क्षेत्र लुम्बिनी विकास कोष भित्र समेटियो भने लुम्बिनी आएका पर्यटकहरुलाई यहाँ आकर्षित गर्न सकिन्छ। उहाँले भन्नुभयाे- त्यसको लागि हामी निरन्तर प्रयत्न गरिरहेका छौं । नगरप्रमुख शर्माले पर्यटन प्रर्वद्धनको लागि नगरपालिकाले सहयोग र सहकार्य गर्न तयार रहेको भन्दै पर्यटक आकर्षित गर्ने वातावरण बनाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयाे ।
लुम्बिनी पर्यटन परिषदका सदस्य तथा महोत्सव अन्तर्गत पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक हरी पोखरेलले नगरको पहिचान बनेको पर्रोहा बोलबमधाममा साउनमा मात्र नभई अन्य समयमा पनि धार्मिक पर्यटक आकर्षित गर्नुपर्ने बताउनु भयाे । उहाँले रानीकुवा क्षेत्रका सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्नुपर्ने, बोलबम पार्क, मलमला, राजापानी सिमसार क्षेत्र लगायतका पर्यटकीय स्थल सैनामैनमा रहेको भन्दै योजना बनाएर पर्यटकीय गतिविधि अगाडी बढाउनुपर्ने उल्लेख गर्नुभयाे । 
सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सव सँगै सैनामैनाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिनुभयाे ।  संघका निवर्तमान अध्यक्ष राजबहादुर क्षेत्रीले नगरमा पर्यटन सम्बन्धी संयन्त्र बनाएर गन्तव्यहरुको पहिचान, संरक्षण, प्रवद्र्धन र प्रचार प्रसार लगायतका गतिविधि गर्नुपर्ने धारणा राख्नुभयाे ।
सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले सैनामैनामा पर्यटकीय चहलपहल बढेमा अन्य व्यवसायलाई फाइदा पुग्ने उल्लेख गर्नुभयाे । व्यापार संघका निवर्तमान अध्यक्ष दुर्गा गौतमले रामापुर कलौनी र मुर्गियालाई लुम्बिनी प्रवेश मार्गको रुपमा विकास गर्न सके नगरमा पर्यटकीय चहलपहल बढ्न सक्ने बताउनु भयाे। 
सैनामैनामा रहेको थारु होम स्टेका अध्यक्ष खुशिराम चौधरीले सैनामैनाको सम्पदा र संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्न सके पर्यटकीय सम्भावना प्रचुर रहेको उल्लेख गर्नुभयाे।
सैनामैना होटल व्यवसायी संघका अध्यक्ष झविन्द्र पोखरेलले पर्यटकहरुका लागि आफूहरुले स्तरिय सेवा दिने प्रयास गरिरहेको बताउनु भयाे ।
पर्यटकीय अनलाइन बुद्धपरिपथ डटकमका पत्रकार सुदिप भण्डारीले नगरमा धार्मिक, पुरातात्वीक, प्राकृतिक गन्तव्यहरु रहेको भन्दै यहाँको पर्यटकीय विकासका लागि तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न सुझाब दिनुभयाे ।  
कार्यक्रममा घरेलु तथा साना उद्योगका दिनेस पाण्डे, कृषि उद्यमी देवेन्द्र पौडेल, सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारी लगायतले बोल्दै लुम्बिनी आउने पर्यटकलाई सैनामैना आकर्षित गर्ने गरि अघि बढ्नुपर्ने बताएका थिए।