बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरु

1.3K

बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरु

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ।
बिहीबार बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गर्नुभयाे । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख पाण्डेयले नगरभित्रका विद्यालयहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउनु भयाे।
उहाँले यस्ता प्रतियोगिताले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सघाउ पुर्‍याउने र राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा सहभागी हुनसक्ने खेलाडी तयार हुनेमा विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विद्यालयतहमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीलाई सबल बनाउने र खेलाडी उत्पादनमा विशेष भूमिका निर्वाह गर्ने बताउनु भयाे । उहाँले सबै विद्यालयहरुलाई अनुसासित र मर्यादित तरिकाले खेलमा सहभागी हुनका लागि आग्रह गर्नुभयाे ।
बिहीबारदेखि शुरु भएको प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयाे । उहाँले आगामी वर्ष प्रशिक्षक र रेफ्री उत्पादनमा समेत विशेष चासो दिने र खेलमैदानहरुको स्तरोन्तति र निर्माण गर्नेतर्फ चासो दिएको बताउनु भयाे ।
प्रतियोगिताअन्तरगत एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा न्यु होराइजन माविले तिलोत्तमा माविलाई २-० गोल अन्तरले हराएको छ। यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेडका बीचमा भएको खेल बराबरी भएपछि ट्राइब्रेकरमा अक्सफोर्ड माविले ४-३ को गोलअन्तरले जित हासिल गरेको छ।
यस्तै, कालिका मानवज्ञान मावि र बुटवल माविका बीचमा भएको खेलमा कालिका मानवज्ञान माविले शुन्यका विरुद्ध २ गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।
यस्तैगरी बुटवल १३ को जबइ खेल मैदानमा भएको प्रतियोगितामा सरस्वती माविले ज्ञानपुञ्ज माविलाई २-० गोल अन्तरले हराएको छ। यस्तै अर्को खेलमा नवीन औद्योगिक माविकले बुटवल ग्लोरीलाई ३-० गोल अन्तरले पराजित गरेको म्याच कमिस्नर हरि प्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।
प्रतियोगिताअन्तरगत शुक्रबार एन्फा खेल मैदानमा  मणिमुकुन्द मावि र नयाँगाउँ मावि, स्कलर्स होम र सिद्धेश्वरी लालकुमारी मावि, नहरपुर मावि र प्रगति मावि तथा अक्सफोर्ड मावि र नवरत्न माविका बीचमा खेल हुनेछ। यस्तै जवइ खेल मैदानमा कान्ति मावि र जितेश्वरी मावि, अन्नपूर्ण मावि र नवीन औद्योगिक मावि, उजिरसिंह मावि र न्यु भिजन मावि तथा गार्गी एकेडेमी र ज्ञानोदय माविका बीचमा हुने छ।
प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुन पाउने नियम छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरी पाण्डेले जानकारी दिनुभयाे ।
उहाँका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन् ।