कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा

11

कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा

कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोली (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रीपरिषद बैठकले दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणमा नेपाल आउन लागेका कतारी राजालाई राष्ट्रपति पौडेलले नै विमानस्थलमा स्वागत गर्नुहुनेछ । एसिया क्षेत्रका तीनवटा मुलुकको भ्रमणमा निस्केका कतारका राजा अल थानी फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार अपराह्न ५ बजेको समयमा नेपाल आउनुहुनेछ ।
त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नुहुनेछ भने त्यसपछि थानी सिधै होटल सोल्टी पुग्नुहुनेछ । त्यसपछि थानी राष्ट्रपति पौडेलसँग भेट गर्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । भोली मंगलबार नै राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा होटल सोल्टीमा रात्रीभोजको आयोजना गर्नुभएको छ ।
भ्रमणको दोस्रो दिन बुधबार थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता तथा केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय छ । त्यसपछि बुधबार नै वेलुका कतार फर्किने कार्यतालिका छ ।