रुपन्देहीको बुटवल उपमहानगरपालिकामा बिभिन्न जातजातिका मानिसहरुको बसोबास छ । यहाँ बस्ने मानिसहरुको भाषा समेत फरक फरक छ । फरक फरक भाषाले सरकारी कामकाजमा भने निकै चुनौति थपिन्छ । यहि चुनौति हटाउनको लागि बुटवल उपमहानगरपालिकाले नगरपालिकामा सबैभन्दा बढि बोलिने चार भाषामा नागरिक बडापत्र प्रकाशन गरेको छ ।
गएको बैशाख ११ गते कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले नेपाली सहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो । नगर प्रमुख खेलराज पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताउनु भयो । ‘अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौं, उहाँले भन्नुभयो–आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ।’
उहाँले स्थानीय स्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने बताउनुभायो । ‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाहरु र अन्यत्रका भाषाहरुमा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाहअनुसार हामीले बुटवलको चलनचल्ती अनुसार नै प्रयोगमा आउने बडापत्र बनाएका छौं, उहाँले भन्नुभयो –यसमा विज्ञहरुले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा हामीलाई सुझाव दिनुहोला, समयानुकल परिमार्जन गर्दै लगिन्छ ।’
नगर उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताउनुभयो । बुटवलले आगामी दिनमा अरु भाषामा बडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ । बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् ।
आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने छ ।
कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ । बडापत्रलाई पुस्तकका रुपमा प्रकाशन गरिएको र छिटै नै डिजिटल रुपमा सबै वडाहरुमा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिनुभयो ।
खुसी छन् लक्षित बर्ग
उपमहानगरको भाषागत बडापत्रले संकटमा पर्न थालेका मातृभाषालाई टेवा पुग्ने बुटवलमा नेवाः अगुवा तथा नेवाः सेवा समिति बुटवलका अध्यक्ष चिरन्जिवी श्रेष्ठ बताउँनुहुन्छ । लोपहुने अवस्थामा पुगेको नेवारी भाषालाई बडापत्रले उत्प्रेरणा दिएको उल्लेख गर्दै श्रेष्ठले भाषा बिर्सने अवस्थामा पुगेका युवा पुष्ताले भाषा सिक्ने चाहनाको अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । “नयाँ पुष्ताले नेवारी बुझ्नै नसक्ने अवस्था आएको थियो,” उहाँले भन्नुभयो, “उपमहानगरको कदमले भाषा संरक्षण र सम्बद्र्धनमा पनि योगदान हुन्छ ।”
बुटवल उपमहानगरको भाषागत बडापत्रले नेवार समुदायको मात्र नभएर सबै नेपालीको गौरव बढाएको बुटवलका अर्का नेवाः अगुवा तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवन ओझाले बताउनुभयो । उहाँले नगर प्रमुख पाण्डेयले आफ्नो प्रतिबद्धता अनुसार भाषागत बडापत्र जारी गरेको भन्दै नगर प्रमुखलाई धन्यवाद ज्ञापन गनुभयो ।
उपमहानगरको बडापत्रले मगर भाषीहरुमा खुसी छाएको मगर संघ रुपन्देहीका पूर्व अध्यक्ष किसनबहादुर थापा बताउनु हुन्छ । उहाँले उपमहानगरको बडापत्रमा मगर भाषा उल्लेख गर्दा आम नागरिकमा बुटवलमा मगर समुदायको बाहुल्यता रहेको जानकारी हुने उल्लेख गर्दै मागर भाषा बुझ्नेहरुका लागि त अझै सहज सेवा लिन सकिने वातावरण बनेको बताउनुभयो ।
मगर भाषा नजान्नेहरुका लागि पनि मगर भाषाको बडापत्रले भाषा सिक्न उत्प्रेरणा मिलेको उहाँको भनाई छ । क्याप्टेन थापाले बुटवल उपमहानगरमा ४ हजारको संख्यामा मगर जनसंख्या रहेको तथ्यांक रहेपनि बुटवलका १९ वटा वडामा २२ हजार बढी मगर जनसंख्या रहेको दाबी गर्नुभयो । बसाई सराई नल्याएका र बैज्ञानीक जनगणना नभएकाले सरकारी तथ्यांकमा संख्या कम देखिएको उहाँको भनाई छ ।
मगर समुदायकी अगुवा एवं मगर संघ बुटवल उपमहानगर समितिकी अध्यक्ष बसन्ती साठीघरे मगरे बुटवल उपमहानगरको भाषागत बडापत्र मगर समुदायका लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले प्रत्यक वडामा पनि मगर भाषाको बडापत्र राख्नुपर्ने उल्लेख गर्दै मगर भाषाको बडापत्रले मगर समुदायमा मातृ भाषा सिक्नुपर्छ भन्ने धारणाको विकास भएको बताउनुभयो । “मगर भाषा नभएपनि कामकाज चल्छ भन्ने सोँच भएका मगर समुदायलाई उपमहानगरको मगर बडापत्रले झकझकाएको छ ।” उहाँले भन्नुभयो ।