दुधमा आत्मनिर्भरको बाटोमा बुटवल

1.3K

दुधमा आत्मनिर्भरको बाटोमा बुटवल

१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा एक मात्रै उपमहानगरपालिका बुटवल उपमानगरपालिकामा जनसंख्या तिब्र रुपमा बढीरहेको छ । पूर्वपश्चिम र उत्तरदक्षिण तथा पहाड र तराईको संगम पनि हो बुटवल । पुरानो व्यापारिक केन्द्रको रुपमा पहिचान बोकेको बुटवल आधुनिक शहरको रुपमा पनि तिब्र विकास भईरहेको छ । ग्रामिण क्षेत्रसमेत समेटिएको बुटवल कृषि तथा पशुपालनका दृष्टिकोणले पनि उत्तिकै महत्वपूण छ । आफैमा ग्रामिण क्षेत्रसम्म फैलिएको बुटवलको अन्य छिमेकी पालिकाका किसानसंग पनि उत्तिकै पुरानो साईनो छ ।
बुटवलको वडा नं. ६ मा रहेको कृषि उपज थोक बजार समग्र रुपन्देहीका मात्रै नभएर पाल्पाका किसानको समेत केन्द्र हो । किसानले उत्पादन गरेका कृषि उपज त्यहाँका व्यापारिले खरिद गर्ने र विक्रि वितरण गर्ने गर्दछन् । एकातिर कृषिमा व्यवसायिक विकास र अर्कोतर्फ बजारको समुचित प्रवन्धका हिसावले पनि कृषि क्षेत्रमा पनि राम्रो सम्भावना छ बुटवलमा । यसलाई मनन गरेर बुटवल उपमहानगरपालिकाले कृषिमा आत्मनिर्भर बन्नको लागि बिभिन्न योजना अगाडि सारेको छ ।
बुटवल उपमहानगरपालिकाले दुधमा आत्मनिर्भर बन्नको लागि विभिन्न योजना बनाएको छ । यद्यपी छिमेकी पालिकामा भन्दा गाई, भैंसी पाल्ने किसानको संख्या बुटवलमा न्यून रहेकाले दुधमा आत्मनिर्भर बन्न चुनौती छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गाई भैसिको आहार, उपचार तथा दूध बजारीकरणका लागि काम भईरहेको बताउनुहुन्छ । उहाँका अनुसार नगरले दुधको उत्पादन बढाउनको लागि किसानलाई पोषणयुक्त दाना तथा घास, उन्नत जातका पाडी बितरण गरिएको छ ।
बुटवलमा दुधको माग बढी छ । उत्पादन कम र माग बढीभएकाले दूधको उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गरि टिकाईराख्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ ।

मिल्क चिलिङ भ्याटमा अनुदान

बुटवलमा दुध र दुग्ध जन्य पदार्थम आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो । वार्षिक ४ लाख ७ हजार २४ लिटर दूध संकलन गरि ३ करोड १२ लाख ५८ हजार बढीको दूध तथा दुग्ध जन्य पदार्थ बिक्री गरि आम्दानी गर्दै आएको सहकारीले मेसिन माग गरिएको र उपमहानगरपालिकाबाट सहयोग प्राप्त भएको सहकारीका अध्यक्ष शान्तिदेबी न्यौपानेले बताउनुभयो । २ सय २२ जना सदस्य रहेको सहकारीबाट दैनिक ११ सय देखि १७ सय लिटर सम्म दूध संकलन हुने गरेको छ ।
मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानल सहितको मेसिन गत चैत्र २५ गते हस्तान्तरण गरिएको बुटवल उपमहानगरपालिका पशुपंक्षि बिकास महाशाखाका उप निर्देशक पशु चिकित्सक झबिन्द बञ्जाडेले जानकारी दिनुभयो ।

दूध मिसनको लागि पाडी बितरण

उपमहानगरपालिकाले दुधको बढाउन विभिन्न शिर्षक छुट्टाएर लगानी गरिरहेको छ । दूध मिसनको लागि पाडी बितरण कार्यक्रम पनि सञ्चालन हुँदैछ । ५० प्रतिशत अनुदानमा पाडी बितरण कार्यक्रमको लागि २० लाख रकम छुट्टाईएको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो । यसबाट ९० परिवार लाभान्वित हुनेछन् । पाडी बितरण कार्यक्रम अन्तरगत सूचना प्रकाशन तथा नामावली संकलन गरिएको महाशाखाका उपनिर्देशक बञ्जाडेले बताउनु भयो ।
गाईभैसी गोठ सुधार तर्फ २८ जनालाई अनुदान प्रदान गरिएको नगरपालिकाले जनाएको छ । गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बुङुर खोर सुधार तर्फ अनुदान दिइएको हो । यसका साथै आहारा सुधार सेवा कार्यक्रम अन्तरगत उन्नत जातको घासको बिउ अनुदानमा बितरण गरिएको छ ।

अन्य गतिविधिलाई निरन्तरता

उपमहानगरले विषेश कार्यक्रम बाहेक अन्य नियमित गतिविधि कायमै राखेको छ । महाशाखाका उपनिर्देशक बञ्जाडेले पशु स्याहारका कार्यक्रम तथा पशुपक्षी खोप तथा महामारी विरुद्धका खोप सञ्चालन गरिएको जानकारी गराउनु भयो । उहाँका अनुसार ६ हजार ५ सय पशुलाई भ्यागुते चरचरे रोग विरुद्धको खोप दिईएको छ । ७ हजार भेडा बाख्रालाई पिपिआर, ६ हजार ५ सय पशुलाई खोरेत विरुद्धको खोप र ६ सय गाई भैसीलाई लम्पि स्किन विरुद्धको खोप दिईएको छ ।