बुटवल कालिकानगरमा रहेको शिवालय मन्दिरमा मन्दिरमा श्रीमद् भागवत महायज्ञ गर्न लागिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा कालिकानगरमा रहेको शिवालय मन्दिरमा पहिलो पटक यहि साउनको ७ देखि १४ गतेसम्म श्रीमद् भागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रूद्राभिषेक महाअनुष्ठान गर्न लागिएको हो ।
मन्दिर व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरी महायज्ञको बारेमा जानकारी गराएको हो । श्रावण महिनाको बोलबमको पुनित अवसरमा महाअनुष्ठान गर्न लागिएको महायज्ञको स्वामिनारायण मुक्तिनाथधामका प्रमुख संरक्षक लोकानन्द स्वामीले उद्घाटन गर्नुहुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद भण्डारीले जानकारी गराउनु भयो । उहाँका अनुसार महायज्ञमा कथावाचक पण्डित चन्द्रकान्त काफ्लेले कथावाचन गर्नुहुनेछ ।
महायज्ञको पहिलो दिन विहान शोभा कलशयात्रा गरिने छ । त्यस्तै विहान १० बजे उद्घाटन गरिनेछ भने ११ बजेदेखि कथा वाचन आरम्भ गरिने छ । प्रत्येक दिन विहान ७ बजेदेखि यज्ञमण्डप पुजा गरिनेछ भने ८ बजेदेखि रुद्राभिषेक, जलार्पण, वेलपत्र अर्पण तथा श्रीमदभागवत पाठ पारायण, ११ देखि ४ बजेसम्म संगितमय कथावाचन, कलाकारबाट झाँकी सहित भजनकृतन गरिनेछ भने ४ बजेदेखि टिका तथा प्रसाद ग्रहण र साँझ ७ बजेदेखि श्रृङ्गारिक महाआरती तथा महात्म्य कथा सहित कृतन झाँकी प्रदर्शन गरी साढे ९ बजे समापन गरिने मन्दिर व्यवस्थापन समितिका सल्लाहकार तथा महायज्ञ प्रचारप्रसाद समितिका संयोजक बिष्णु भण्डारीले जानकारी गराउनु भयो ।
बि.सं. २०५६ साल फागुन २० गते स्थापना भएको मन्दिरमा २०५९ साल साउनबाट नियमित रूपमा हरेक सोमबार दिउसो १२ देखि २ बजेसम्म भजनकृतन हुने गरेको छ । श्रावण महिना बोलबमको पुनित अवसरमा दैनिक कथा वाचन, भजन, कृतन, रूद्राभिषेक हुने सचिव तारादेवी लम्सालले जानकारी गराउनु भयो । मन्दिरमा रूद्रि, श्राद्ध, बिबाह, ग्रहशान्ति लगायतका दैनिक नित्य पुजा हुने गरेको छ ।