निर्माणका कामको ठेक्का पहिलो चौमासिक भित्रै लगाउन नगरप्रमुख पाण्डेयको निर्देशन

1.3K

निर्माणका कामको ठेक्का पहिलो चौमासिक भित्रै लगाउन नगरप्रमुख पाण्डेयको निर्देशन

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै शुरु गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । बुधबार महाशाखा, शाखा प्रमुख र वडासचिव सहितको बैठकमा पाण्डेयले भौतिक पूर्वाधार विकास तर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिनुभएको हो ।
उहाँले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भयो । गएको आर्थिक वर्षमा केही सुधार भएको बताउँदै उहाँले यसलाई चालु आर्थिक वर्षमा पूर्ण रुपमा सुधार गर्नको लागि काम गर्न निर्देशन गर्नुभएको हो
सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र आलटाल गर्ने जस्ता गुनासा आउने गरेको भन्दै सेवाग्राहीको काम सकेसम्म छिटो र सरल प्रक्रियाबाट गर्न निर्देशन दिनुभयो । उहाँले सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न र त्यसअनुसार सूचना र प्रविधिको व्यवस्थापन गर्न पनि निर्देशन गर्नुभयो ।
सेवाप्रवाहका क्रममा संघ, प्रदेश र स्थानीय सरकारका कानुनलाई ध्यानमा राख्न र त्यसअनुसार काम गर्न उहाँले आग्रह गर्नुभयो । ‘जुनसुकै काम गर्दा संघका कानुन, प्रदेशका कानुन र हामीले नगरसभाबाट पास गरेका र कार्यपालिका बैठकबाट पास गरेका कानुन र कार्यविधिहरु राम्रोसँग हेरेर बुझेर काम गर्नुहोस् ।’ उहाँले भन्नुभयो–‘काम गरेकै आधारमा कसैले पनि जोखिम बेहोर्नुहुँदैन ।’
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सेवाप्रवाहलाई स्तरीय बनाउदै बुटवलको गौरव बढ्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले विकासका काममा विशेष चासो दिएर स्तरीय काम गर्न र गराउनुपर्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले गुनासो नआउने गरी सेवाप्रवाह गर्न र विकासका कामलाई छिटो र स्तरीय ढंगबाट सम्पन्न गर्नका लागि खटिन कर्मचारीलाई आग्रह गर्नुभयो ।