सबैको प्रतिक्षा छ, सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङ मार्ग कहिले छिचोलिएला ? सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ छिचोलिन अब धेरै छैन । आयोजनाकी ईञ्जििनियर सविता ज्ञवालीका अनुसार बुधबारसम्म १ हजार ८१ मिटर सुरुङ खनिसकिएको छ ।
सिद्धबाबा सुरुङ मार्ग आयोजनाको मुख्य सुरुङ १ हजार ८९ मिटर लामो छ । त्यसमध्ये १ हजार ८१ मिटर खनिसकिएको र अब करिव ८ मिटर छिचोल्न बाँकी रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार मुख्य सुरुङ उत्तरतर्फबाट ४७७ मिटर र दक्षिणतर्फबाट ६०४ मिटर खनिएको छ । त्यस्तै तीन वटा वाईपास सुरुङ पनि ब्रेक थ्रु भईसकेका छन् ।
सुरुङ मार्ग ब्रेक थ्रु गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आउने भन्ने कुरा भएकाले तत्काल कहिले ब्रेक थ्रु गर्ने भन्ने निश्चित गरिएको छैन । ‘टनेल ब्रेक थ्रु अब चाँडै नै हुन्छ’, ईञ्जिनियर ज्ञवालीले भन्नुभयो–‘हामी सल्ल्लाह गरेर त्यसको पनि छिटै निश्चित गछौँ ।’
बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न जिल्लाहरुसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । जसमा टनेल सहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनाईँदै छ ।
सात अर्ब ३४ करोड रुपैयाँ लागतको यो आयोजनाको ३८.८५ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै झण्डै ४० प्रतिशत वित्तिय प्रगति भएको आयोजनाले जनाएको छ ।