बुटवलको बजेट ३ अर्ब ३६ करोड

1.3K

बुटवलको बजेट ३ अर्ब ३६ करोड

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत बजेट ल्याएको जानकारी गराउनु भयो ।
बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान गरेको छ । बुटवललाई आगामी आर्थिक वर्षमा शिक्षा स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिईएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं भन्ने उदेश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ । त्यसका लागि ५० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गरिएको छ । बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्नका लागि पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ ।
विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तरगत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि १ करोड, छात्राहरुलाई निशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाउँ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ ।
यस्तै जेष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ ।
यस्तै गरी, नगरलाई सफा र स्वच्छ राख्न मेरो टोल म सफा गर्छु भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्यमी महिलाका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन गरिएको उपप्रमुख अर्यालले बताउनु भयो ।
किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन गरिएको छ ।
यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुन नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । बुटवललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ‘घुमौं बुटवल’ भन्ने अभियान अन्तरगत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरु सञ्चालन गर्ने नगरप्रमुख खेलराज पाण्डेले बताउनु भयो । शिवनगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिने पनि उहाँले बताउनु भयो ।