राष्ट्रिय धान दिवस : बुटवलमा रोपाई विशेष कार्यक्रम

1.3K

राष्ट्रिय धान दिवस : बुटवलमा रोपाई विशेष कार्यक्रम

राष्ट्रिय धान दिवसको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १९ मा रोपाई विशेष कार्यक्रम गरिएको छ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिले संयुक्त रुपमा रोपाई विशेष कार्यक्रम गरिएको हो ।
२२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उपमहानगरपालिका वडा नं. १९ किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको नेपाल किसान महासंघकी लुम्बिनी प्रदेश अध्यक्ष रिता केसीले बताउनु भयो । उहाँले कृषिमा युवा आकर्षण बढाउन र तीनै तहका सरकारलाई कृषिलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनको लागि सन्देश दिनको लागि कार्यक्रम गरिएको बताउनु भयो ।

त्यसअवसरमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा भनाई राख्नुभयो । सभापति पुनले मलखाद उपलब्ध नहुँदा किसान सबै समस्या रहेको बताउँदै किसानलाई समयमै प्रयाप्त मात्रामा मलखाद, विउ लगायतका आवश्यक चिजहरु उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो । सरकारी अनुदानमा पारदर्शिता नभएको भन्दै उहाँले वास्तविक किसानको पहुचमा पु¥याउनुपर्ने भनाई राख्नुभयो ।

किसान महसंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसी नेपाललाई कृषिमा आत्मनिर्भर बनाई निर्यातका लागि सक्षम बनाउने र परम्परागत रैनाथे बालीको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । धान उत्पादन वृद्धिको लागि बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवद्र्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
त्यस अवसरमा रोपारहरुले असारे गीत गाउँदै पञ्चेबाजामा नाचेर रोपाइ उत्सव समेत मनाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश तथा जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ताको सहभागिता रहेको नेपाली काँग्रेस बुटवल नगर समितिका सचिव छायाँ पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रिय धान दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले पनि त्यसै वडामा अर्को स्थानमा रोपाई उत्सव मनाएको छ ।