बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २६ देखि

1.3K

बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २६ देखि

बुटवल उपमहानगरपालिकाले सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ । विद्यालय तहका विद्यार्थीमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो राष्ट्रियस्तरको प्रतियोगिता पुस २६ देखि २८ गतेसम्म एन्फा टेक्निकल सेन्टर, बुटवल–११ देवीनगरमा सञ्चालन गर्न लागिएकाे हाे ।
प्रतियोगिताको उद्घाटन समारोह पुस २५ गते बिहान ११ बजे आयोजना गरिने छ । प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस वर्षको प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका ४२ वटा विद्यालयबाट छात्र ९८१ र छात्रा ६०७ गरी जम्मा १ हजार ५८८ विद्यार्थी सहभागी हुने जानकारी दिइयाे । एथलेटिक्स (दौड, ज्याभलिन थ्रो, सटपुट, लङ जम्प, हाइ जम्प, ट्रिपल जम्प), कराँते र तेक्वान्दोका ६–६ विधा, भलिबल तथा कबड्डी खेल समावेश गरिएका छन्। प्रतियोगितामा करिब ३५० खेलाडी प्रत्यक्ष प्रतिस्पर्धामा उत्रने छन् ।
नगर खेलकुद विकास समिति बुटवलका अध्यक्ष बाेनिन पियाका अनुसार एथलेटिक्स, कराँते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हुने छात्र–छात्रालाई क्रमशः नगद २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता अवधिभर सामूहिक बीमाको व्यवस्था गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ । समितिका संयोजक पियाका अनुसार प्रतियोगिताले विद्यालयस्तरमै लुकेका खेल प्रतिभा उजागर गर्न, अनुशासन, टिम भावना र प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रतियोगितालाई निर्णायक, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्थापन तथा खेल आचारसंहिता कडाइका साथ पालना गर्दै सफल बनाइने उहाँले बताउनु भयाे ।
त्यस अवसरमा बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुद नगरिका रुपमा विकास गरि खेलकुदकाे हव बनाउन साेही अनुसार खेलाडि उत्पादन र पूर्वाधार विकासका कामलाई प्राथमिकता दिईएकाे भनाई राख्नुभयाे ।

खेल अनुसार पुरस्कार राशी

१) एथलेटिक्स, कराँते र तेक्वान्दो
प्रथम : रु. २,०००
द्वितीय : रु. १,५००
तृतीय : रु. १,०००
(नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल)
२) भलिबल (टिम)
प्रथम : रु. १५,०००
द्वितीय : रु. ७,५००
तृतीय : रु. ५,०००
(शिल्ड, मेडल तथा प्रमाणपत्रसहित)
३) कबड्डी (टिम)
प्रथम : रु. १५,०००
द्वितीय : रु. ७,५००
तृतीय : रु. ३,५००
(दुई टिमलाई पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र)
४) मार्चपास/¥याली प्रदर्शन
प्रथम : रु. १०,०००
द्वितीय : रु. ६,०००
तृतीय : रु. ३,०००
५) समग्र खेलकुद प्रदर्शन
प्रथम : रु. २५,०००
द्वितीय : रु. १५,०००
तृतीय : रु. १०,०००