इरानमा इजरायल र अमेरिकाकाे संयुक्त सैन्य आक्रमण : नेपालमा असर

1.3K

इरानमा इजरायल र अमेरिकाकाे संयुक्त सैन्य आक्रमण : नेपालमा असर


इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमा अग्रिम सुरक्षात्मक हवाई आक्रमण सुरु गरेका छन् । सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको यो सबैभन्दा ठूलो तथा निर्णायक सैन्य कारबाही मानिएको छ ।
इजरायली सेना (आईडीएफ)ले उक्त अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ । इजरायली रक्षा मन्त्रालयले इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतामा लक्षित कारबाही गरिएको दाबी गरेको छ । यद्यपि, इरानले यस आक्रमणलाई “अवैध र उक्साहटपूर्ण कदम” भन्दै कडा प्रतिक्रिया जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
आक्रमणपछि मध्यपूर्व क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । कुवेत, इराक, संयुक्त अरब इमिरेट्स, कतार र बहराइन लगायतका मुलुकहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् ।
केही देशहरूले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय उडान मार्गहरू परिवर्तन गरिएका छन् भने केही प्रमुख एयरलाइन्सले मध्यपूर्व गन्तव्यका उडान अस्थायी रूपमा स्थगित गरेका छन् ।
मध्यपूर्वमा विकसित घटनाक्रमको असर नेपालमा पनि देखिएको छ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।
सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएकाे छ ।
शनिबार दिउँसोदेखि कतार, दुबई, कुवेत, रियादलगायत गन्तव्यतर्फ जान लागेका यात्रुहरू विमानस्थलमा अलपत्र परेका थिए । उडान अनिश्चित भएपछि ठूलो संख्यामा यात्रुहरूको भीड जम्मा भएको छ । कतिपय यात्रुहरू रोजगारीका लागि खाडी मुलुक जाँदै थिए भने केही बिदामा घर फर्किएका श्रमिक पुनः कार्यस्थल फर्किने क्रममा थिए ।
नेपालबाट प्रत्येक वर्ष ठूलो संख्यामा युवा रोजगारीका लागि खाडी मुलुक जाने भएकाले हवाई उडानमा अवरोध हुँदा प्रत्यक्ष आर्थिक र सामाजिक असर पर्ने देखिएको छ ।
आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । विश्लेषकहरूले यो घटनाले मध्यपूर्वमा पुनः व्यापक द्वन्द्व चर्किन सक्ने जोखिम रहेको बताएका छन्।
हाल स्थिति थप जटिल बन्दै गइरहेको संकेत देखिएकाले आगामी दिनमा हवाई यातायात, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामा दीर्घकालीन प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । नेपाल सरकारले पनि मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षाबारे निगरानी बढाएको जनाएको छ । परिस्थिति तीव्र गतिमा बदलिइरहेकाले यात्रुहरूलाई आधिकारिक सूचना स्रोतमार्फत अद्यावधिक जानकारी लिन र अनावश्यक यात्रा नगर्न आग्रह गरिएकाे छ ।