प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको अनुमान गरिएको छ । निर्वाचन आयोगले देशभरबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा उक्त अनुमान सार्वजनिक गरेको हो ।
मतदान सम्पन्न भएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको जानकारी दिए । विस्तृत विवरण संकलनको कार्य भने अझै जारी रहेको उनले बताए ।
‘विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउनु चुनौतीपूर्ण थियो,’ भण्डारीले भने, ‘प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको अनुमान गरिएकाे छ ।’
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान केही स्थानमा छिटपुट घटना बाहेक समग्रमा देशभर सामान्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ ।
याे निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका थिए । प्रतिनिधिसभाका १६५ प्रत्यक्ष तथा ११० समानुपातिक गरी कुल २७५ सिटका लागि मतदान भएको हो ।
आयोगका अनुसार अहिले देशभरबाट मतपेटिका संकलन गर्ने काम भइरहेको र मतपेटिका संकलनकाे काम सकिएपछि पूरा मतगणना सुरु गरिने छ ।