अब हप्तामा दुई दिन बिदा

1.3K

अब हप्तामा दुई दिन बिदा

मन्त्रिपरिषद् बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै अब सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
सरकारले २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेकाे हाे । साथै, शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ ।
इन्धनमा निर्भरता घटाउने उद्देश्यले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।
त्यसैगरी, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरिएको छ । बैठकले दिगो र समावेशी वित्त परियोजना सञ्चालनका लागि विश्व बैंक बाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्वस्वीकृति दिने निर्णय गरिएको छ ।
यसैबीच, राष्ट्रिय समाचार समिति का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।