नुवाकोट गढीको प्रचार र पर्यटन प्रवर्द्धनका लागि नुवाकोट महोत्सवको तयारी गरिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन तथा कला–संस्कृतिको संरक्षण र विकास गर्ने उद्देश्यले यहि बैशाख १ र २ गते ‘नुवाकोट महोत्सव’ आयोजना गरिएको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. १ र २ को शिर तिनाउ क्षेत्रमा अवस्थित ऐतिहासिक नुवाकोट गढीको प्रचार–प्रसार गर्नको लागि ‘नुवाकोट महोत्सव–२०८३’ गर्न लागिएको आयोजक संस्था नुवाकोट विकास समितिका पूर्व अध्यक्ष तथा महाेत्सवका संयाेजक माधवप्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार समितिले घरदैलो कार्यक्रममार्फत आर्थिक व्यवस्थापन जुटाउँदै तयारीलाई तीव्रता दिइएको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण नुवाकोट गढी क्षेत्रमा कालभैरव कामना मन्दिर, खड्ग मन्दिर, टुँडिखेल, टक्सार, भन्सार, काठेगढी, रानी इनार, भ्यूटावर लगायतका स्थलहरू रहेका छन् ।


बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित देउराली डाँडाबाट सिद्धार्थ केवलकार हुँदै सहजै महोत्सव स्थल पुग्न सकिने छ । महोत्सव अवधिभर नेपाली मौलिक खानाका परिकार, विभिन्न जातजातिका भेषभूषा, कला–संस्कृतिको प्रदर्शन तथा पर्यटनसम्बन्धी गतिविधिहरू सञ्चालन गरिने पनि उनले बताए । साथै महोत्सव अवधिभर केवलकार सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । सिद्धार्थ गौतम जन्मना साथ उत्तरतर्फ सात पाइला हिडेका थिए भन्ने सत्यको प्रतिक सात पाईलाको सम्मान स्वरुप केवलकारको तल्लो स्टेशनमा निर्मित ६ वटा कमलको फूल र माथिल्लो स्टेशनमा ७ औं कमल फूल सहितको नेपालकै नमुना बगैचाले महोत्सवमा स्वागत गर्नेछ ।
नुवाकोट गढी नेपाली वीरताको प्रतीकका रूपमा परिचित छ । एङ्ग्लो–नेपाल युद्ध (१८१४–१८१६) का क्रममा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले यही क्षेत्रबाट लड्दै ब्रिटिस फौजलाई पराजित गरेका थिए ।
यो ऐतिहासिक स्थलमा गरिएको महोत्सवले स्थानीय पर्यटन, रैथाने खाना, कला–संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षणमा टेवा पु¥याउनुका साथै आन्तरिक पर्यटक आकर्षित गर्ने विश्वास गरिएको पनि उनले बताए ।