सामाजिक सेवामा निरन्तर काम गर्दै आएकाे लायन्स क्लब अफ बुटवल डिष्ट्रिकमै प्रथम भएकाे छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ पी नेपालले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गरेबापत अध्यक्ष सहित पदाधिकारीलाई सम्मान गरिएकाे छ । प्राप्त सम्मानले क्लबको नेतृत्व क्षमता, सामाजिक सेवाप्रतिको प्रतिबद्धता तथा संगठनात्मक सक्रियतालाई थप उजागर गरेको छ ।
उत्कृष्ट कार्यसम्पादनका आधारमा लायन्स क्लब अफ बुटवलले डिष्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत प्रथम स्थान हासिल गर्न सफल भएको हाे । क्लबले वर्षभरि सञ्चालन गरेका सामाजिक तथा सेवामूलक गतिविधिहरूका कारण यो उपलब्धि हासिल गरेको जनाइएको छ ।
यस क्रममा क्लबका अध्यक्ष प्रतिक पोखरेललाई ‘डायमण्ड अवार्ड’ प्रदान गरिएको छ । सदस्यता विस्तार, सामाजिक सेवा कार्यक्रम सञ्चालन तथा लायन्सको उद्देश्यअनुरूप उत्कृष्ट नेतृत्वदायी भूमिका निर्वाह गरेबापत उनलाई उक्त सम्मान प्रदान गरिएको हो । डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईको कार्यकालमा प्रदान गरिएको यो सम्मानले पोखरेलको सक्रियता र समर्पणको उच्च मूल्यांकन गरेको क्लबले जनाएको छ ।

त्यसैगरी, क्लबका सचिव उमेश अमात्यलाई ‘आउटस्ट्यान्डिङ सेक्रेटरी अवार्ड’ प्रदान गरिएकाे छ । प्रशासनिक कार्यलाई व्यवस्थित बनाउने, अभिलेख व्यवस्थापन तथा कार्यक्रम सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गरेबापत उनलाई उक्त सम्मान गरिएको हो ।
यस्तै, क्लबका कोषाध्यक्ष श्यामप्रसाद देवकोटालाई ‘आउटस्ट्यान्डिङ ट्रेजरर अवार्ड’ प्रदान गरिएकाे छ । क्लबको आर्थिक व्यवस्थापनलाई पारदर्शी, अनुशासित र प्रभावकारी बनाउँदै वित्तीय उत्तरदायित्व सफलतापूर्वक निर्वाह गरेबापत उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
यसैगरी, लायन्स क्लब अफ बुटवललाई मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ‘हाइएस्ट सर्भिस क्लब प्रेसिडेन्ट अवार्ड’ प्रदान गरिको छ । वर्षभरि सञ्चालन गरिएका विभिन्न सामाजिक, मानवीय तथा सेवामूलक कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव पार्न सफल भएको मूल्यांकनका आधारमा क्लबलाई उक्त अवार्ड प्रदान गरिएकाे हाे ।
लायन्स अन्तर्राष्ट्रियले उत्कृष्ट नेतृत्व, सदस्यता वृद्धि, सेवा गतिविधि तथा संगठनात्मक व्यवस्थापनलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान प्रदान गर्दै आएको छ ।
क्लबले शिक्षा, स्वास्थ्य, आँखा उपचार, वातावरण संरक्षण, विपद् राहत तथा अन्य मानवीय सेवामूलक कार्यक्रममार्फत समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । प्राप्त सम्मानहरूले क्लबको गौरव बढाउनुका साथै आगामी दिनमा अझ प्रभावकारी सामाजिक सेवा अभियान सञ्चालन गर्न प्रेरणा र प्राेत्साहन मिलेकाे क्लवका अध्यक्ष प्रतीक पाेखरेलले बताए ।